अपराध अनुसन्धान पद्धतिलाई गुणस्तरीय, प्रभावकारी र परिणाममुखी बनाउन आधुनिक प्रविधिकोे अधिकतम उपयोग गरिनुपर्ने मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिहले बताएका छन् । नेपाल प्रहरीको अपराध अनुसन्धान विभाग एवम् मधेश प्रहरी कार्यालय जनकपुरधामद्वारा आयोजित अपराध अनुसन्धान सम्बन्धी समस्या र समाधान विषयक प्रदेश स्तरीय समीक्षा गोष्ठीलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो बताएका हुन ।
मुख्यमन्त्री सिंहले अपराध अनुसन्धानको सुक्ष्मता, सघनता, तीव्रता र तटस्थताबाट मात्र सही न्याय निरूपणका लागि ठोस तथा निश्चयात्मक आधार तय हुने हुँदा प्रहरीले अनुसन्धान पद्धतिलाई आवश्यकता अनुसार वैज्ञानिक बनाउँदै बनाउदै लैजानुपर्नेमा जोड दिनुभयो ।
अपराधको प्रकृति र आयाममा बदलाव आउँदै गएकोले अनुसन्धान कार्यलाई निकै जटिल बनाएको हुँदा अनुसन्धान कार्यमा उपलब्ध प्रविधिको उपयोगबाट सही विश्लेषण प्राप्त हुनेगरी प्रहरी जनशक्तिलाई दक्ष बनाउनुपर्ने बताए । उहाँले अनुसन्धानमा चुक हुँदा निर्दोष व्यक्तिले सजाय पाउने तथा दोषीले उन्मुक्ति पाउने दुर्भाग्यपूर्ण अवस्था निम्तिने जोखिम रहेकोले अपराध अनुसन्धानका लागि कानुनद्वारा निर्धारित नेपाल प्रहरीलाई थप सशक्त बनाउनुपर्नेमा जोड दिनुभयो । मधेश प्रदेश सरकार प्रहरीलाई साधनस्रोत सम्पन्न बनाउन प्रतिबद्ध छ ,भन्दै मुख्यमन्त्री सिहले नेपाल प्रहरीलाई दन्तचित भएर काम गर्न निर्देशन दिनुभयो ।
शान्ति सुरक्षा तथा अमनचयन कायम गर्न नेपाल प्रहरीका लागि निर्धारित भूमिकालाई अझ बलियो, बिस्तारित र सक्षम बनाउन प्रदेश सरकारको संवैधानिक दायित्व नै भएको चर्चा गर्दै उनले मधेश प्रदेशका आठवटै जिल्लामा भइरहेका अपराधका अनुसन्धान प्रक्रियाका बारेमा गहन विमर्श गरी विद्यमान कमीकमजोरी हटाउन मजबुत प्रयास हुुनुपर्ने बताए ।








