नेपाली सेनाले बदलिँदो अन्तर्राष्ट्रिय परिस्थिति र शक्ति राष्ट्रले लिइरहेका नयाँ नीतिको प्रभावलाई सूक्ष्म रूपमा हेरिरहेको बताएको छ ।

सैनिक मुख्यालयले आइतबार आयोजित पत्रकार सम्मेलनमा युद्धकार्य विभाग महानिर्देशक एवं उपरथी प्रेमध्वज अधिकारीले सेना अन्तर्राष्ट्रिय गतिविधिबाट बेखबर नरहेको बताए ।

अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएसँगै उनले लिएका नीतिका कारण नेपालमा समेत बहुआयामिक प्रभाव पर्नसक्ने विश्लेषण हुँदै आएका छन् । उक्त घटनाक्रमलाई सूक्ष्म रूपमा नियालिरहेको सेनाले जनाएको हो ।

‘विभिन्न शक्ति राष्ट्रले लिएका नीति र क्षेत्रीय रुपमा विकसित परिस्थिति, राजनीतिकदेखि आर्थिक गतिविधिले कत्तिको प्रभावित हुन्छौं भन्ने कुरा धेरै अनुमान लगाउन सकिन्छ,’ सेना दिवसको पूर्वसन्ध्यामा जंगी अड्डामा आयोजित पत्रकार सम्मेलनमा उपरथी अधिकारीले भने, ‘नेपाली सेना र सैनिक नेतृत्व बदलिँदो परिस्थितिमा कम्प्रिहेन्सिभ स्ट्र्याटिजी फ्रेमवर्कमा पर्ने सम्पूर्ण सुरक्षा सरोकारका विषयहरूलाई कसरी सम्बोधन गर्ने भन्नेमा चिन्तन मनन भइरहेकै अवस्था हो ।’

अधिकारीले बदलिएको परिस्थितिमा नेपालको क्षमता र स्रोत, साधनलाई कसरी अगाडि बढाउने भन्ने विषयमा पनि रणनीति तयार पार्ने काम भइरहेको उनले जानकारी दिए । भर्खरै सम्पन्न सेनाको पृतनापति सम्मेलनमा समेत यो विषयमा बहस भएको थियो ।

जंगी अड्डाका पृतनापतिहरूले पछिल्लो अवस्थामा देशको मुख्य सुरक्षा चुनौती बदलिएको भू–राजनीतिले पार्ने प्रभावका बारेमा चर्चा गरेका थिए ।

आजको पत्रकार सम्मेलनमा सैनिक प्रवक्ता एवं सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयका प्रमुख सहायक रथी गौरवकुमार केसीले सेनाको पृतनापति सम्मेलन अर्धवार्षिक रूपमा हुने नियमित अन्तरक्रियाको फोरम भएको जानकारी दिए ।

‘पृतनापति सम्मेलनमा देशभरिका युनिटहरूका गतिविधि र उनीहरुका क्षेत्राधिकारभित्र पर्ने ठाउँका सुरक्षा अवस्थाबारे छलफल हुनु स्वाभाविक हो,’ उनले भने ।

सेनाले क्षेत्रीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा भएका गतिविधिलाई छलफल गर्ने, बुझ्ने र रणनीति बनाउने कुरालाई स्वाभाविक रूपमा लिनुपर्ने उनले बताए ।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर