सप्तरी,११ फाल्गुन । मधेश प्रदेशका पूर्व अर्थ मन्त्री शैलेन्द्र प्रसाद शाहले सिरहा जिल्लाको नवराजपुरकी रिंकु कुमारी सदामाथि सामूहिक बलात्कारपछि हत्याको घटनालाई दबाउने कुप्रयास प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताउनु भएको छ।
कोशी टेलिभिजनको अनलाइन संस्करणका लागि संक्षिप्त प्रतिक्रिया दिँदै पूर्व मन्त्री साहले सिरहा नवराजपुर गाउँपालिका-१ भगवतिपुरमा मुसहर समुदायकी १७ वर्षीया किशोरी रिंकु सदामाथि गाउँकै तीन युवाद्वारा गरिएको सामूहिक बलात्कार र त्यसपछि स्थानीय पंचायती निर्णय मार्फत घटनालाई दबाउने प्रयास प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताए। उहाँले भने अझ दुःखद कुरा त के छ भने, अन्ततः उक्त किशोरीको हत्या गरिएको छ।
यस्तो जघन्य अपराध हुँदा पनि प्रहरी-प्रशासन तथा सरोकारवाला निकायहरूको मौनता गम्भीर चिन्ताको विषय हो। घटनामा संलग्न बलात्कारीहरू तथा अपराधलाई ढाकछोप गर्ने पंचहरूमाथि पूरक जाहेरी दर्ता भएपछि पनि उनीहरूलाई पक्राउ गर्न नसक्नु प्रहरी प्रशासनको लाचारीपनको ठुलो प्रमाण हो। यस प्रकारको अपराधलाई संरक्षण दिनु कानुनी शासनको धज्जी उडाउनु हो, जसले भविष्यमा अपराधीलाई अझै हौसला प्रदान गर्न सक्छ।
पूर्व मन्त्री साहले घट्नालाई निष्पक्ष छानबिन गर्न सरकार संग सुझाव सहितको ५ सुत्रीय माग गरेका छन्।
घटनाको सत्यतथ्य छानबिन गरी दोषी जो-कोहीलाई कानुनी दायरामा ल्याई कडा भन्दा कडा कारबाही गर्नुपर्ने,बलात्कार र हत्यासँग सम्बन्धित सबै प्रमाण संकलन गरी अदालतमा निष्पक्ष रूपमा पेश गरिनुपर्ने, घटनालाई ढाकछोप गर्न खोज्ने पंचायतका संलग्न व्यक्तिहरूलाई समेत कानुनी कारबाहीको दायरामा ल्याइनुपर्ने,पीडित परिवारलाई सुरक्षा तथा न्यायिक प्रक्रिया सहज बनाउन आवश्यक सहयोग उपलब्ध गराइनुपर्ने र समाजमा यस प्रकारका घटनाहरू दोहोरिन नदिन प्रहरी-प्रशासनलाई थप जवाफदेही बनाउन विशेष पहल गर्नुपर्ने माग गरेका हुन्।
उहाँले यस घटनालाई कुनै पनि हालतमा ढाकछोप गर्ने प्रयास स्वीकार्य नहुने बताउँदै सम्बन्धित सबै निकायसँग तत्काल आवश्यक कारबाही गरी पीडितलाई न्याय दिलाउन माग गरेका छन्।







