भद्रपुर । ताप्लेजुङको सदरमुकाम फुङलिङ बजारमा आइतबार बिहानैदेखि कर्फ्यू आदेश लागू भएको छ । प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद अधिकारीले शनिबार राति एक सूचना जारी गर्दै आइतबार बिहानैदेखि निषेध आदेश लागू गरेका हुन् ।
‘बिहान ५ बजे देखि अर्को आदेश नभएसम्मका लागि निम्न बमोजिमको चार किल्ला भित्रको क्षेत्रमा लागू हुने गरी स्थानीय प्रशासन ऐन, २०२८ (संशोधन सहित)को दफा ६ को उपदफा ३(क) बमोजिम निषेधित क्षेत्रमा ५ (पाँच) जना भन्दा बढी व्यक्ति भेला भई सभा, जुलुस, प्रदर्शन घेराउ जस्ता कार्यक्रम गर्न निषेध गर्ने गरी यो आदेश जारी गरिएको छ’, जिल्ला प्रशासन कार्यालयले जारी गरेको आदेशमा भनिएको छ ।

जिल्ला प्रशासन कार्यालयका अनुसार फुङलिङ नगरपालिका बजार क्षेत्रको पूर्वतर्फ फुङलिङ नगरपालिका वार्ड नं ७ सल्लेरी, पश्चिमतर्फ फुङलिङ नगरपालिका वार्ड नं ७ घोडेचौर (बलाङ धारा क्षेत्र सम्म), उत्तरतर्फ फुङलिङ नगरपालिका वार्ड नं ४ उकालीपानी र दक्षिणतर्फ फुङलिङ नगरपालिका वार्ड नं ६, शेर्पा टोल (भेटनरी कञ्चनजंघा टोल)सम्म निषेध आदेश जारी भएको छ ।
यसैगरी, काफ्लेपाटी-बल्लुडाँडा क्षेत्रमा पनि निषधे आदेश जारी भएको छ । जसअनुसार पूर्वमा पर्यटक प्रहरीको भवनको १०० मिटर इलाका, पश्चिममा बल्लुडाँडा/ डडेले इलाका, उत्तरमा केबलकार बेस स्टेशन/ पानीको मुहान इलाकाको १०० मिटर र दक्षिणमा नयाँ बसपार्क इलाकाको १०० मिटर (जंगल इलाका समेत)मा निषेध आदेश जारी भएको छ ।

शनिबार बेलुका फुङलिङ बजारमा ‘नो केबलकार’ समूह र प्रहरीबीच साँझ झडप भएको थियो । झडपमा ५/६ जना प्रहरी र केही आन्दोलनकारी पनि घाइते भएका छन् ।
‘नो केबलकार’ अभियानका समर्थकहरूले मसाल जुलुससहित प्रदर्शन गरेको र सुरक्षाकर्मीले बलिरहेको राँको नियन्त्रणमा लिन खोज्दा झडप भएको बताइएको छ ।
ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार बनाउनुपर्ने मागसहित एकदिन पहिले स्थानीयले सद्भाव र्याली निकालेका थिए । तर, राजेन्द्र महतोसहित नेताहरू पुगेर केबलकारको विपक्षमा माहोल सिर्जना गर्न खोजेका थिए । उक्त समूहले केही दिन पहिले पनि प्रहरीमाथि आक्रमण गरेको थियो ।
ताप्लेजुङको शान्ति बिथोल्ने खोजेको, अवाञ्छित गतिविधि गरेको भन्दै स्थानीयले महतोलाई शनिबार कालोझण्डा समेत देखाएका थिए ।






