नेपाल प्रिमियर लीगको पहिलो संस्करणले फरक–फरक पोजिसनमा खेल्ने मुख्य ५ खेलाडीलाई चर्चामा ल्याएको छ ।
पहिलोपटक भएको टी–२० फरम्याटको यो फ्रेन्चाइज लीगमा केही नयाँ खेलाडी उत्खनन् भएका छन् भने केही पुराना खेलाडीले आफूलाई प्रमाणित गरेका छन् ।

यतिमात्रै होइन, नेपालको ओपनिङको लय समात्ने, फास्ट बलिङ सम्हाल्नेदेखि स्पीन आक्रामणलाई अझै बलियो बनाउने खेलाडी पहिचान भएको छ ।
१. विपिनप्रसाद शर्मा
कर्णालीले ट्यालेन्ट हन्टबाट खोजेका विपिनले एनपीएलको पहिलो संस्करणमा तहल्का नै मच्चाएका छन् । जम्मा १६ वर्ष मात्रै उमेर भएका देब्रे हाते अर्थोडक्स बलर शर्माको खेल लोभलाग्दो रहेको छ । ८ खेल खेल्ने क्रममा शर्माले १३ विकेट लिएर सनसनी मच्चाएका छन् । उनले हरेक खेलमा विकेट मात्र लिएनन्, यस क्रममा एनपीएलकै चर्चित खेलाडीलाई शिकार बनाए ।
शर्माले जनकपुरका जिमी निशम, विराटनगरका मार्टिन गप्टिल, चितवनका कुशल मल्ल, लोफ्टिी इटोन, सोहेल तनबीरदेखि लुम्बिनीका बेन कटिङसम्मको विकेट लिएका छन् ।
कर्णालीमा राष्ट्रिय टीमका सोमपाल कामी र गुल्सन झाजस्ता खेलाडीलाई समेत पछाडि पार्दै शर्माले प्रभाव देखाएका हुन् । एनपीएलमा सबैभन्दा बढी विकेट लिनेको सूचीमा शर्मा शीर्ष चारभित्र परेका छन् । चितवनविरुद्ध शर्माले एउटै खेलमा तीन विकेट लिएका थिए ।

दोस्रो क्वालिफायरमा जनकपुरविरुद्ध भिडन्तमा बिहीबार शर्माले जिमी निशमलाई ४५ रनमा आउट गर्दै खेललाई नियन्त्रणमा ल्याएका थिए ।
केही क्याच र रनआउटको अवसर मिस गरे पनि अन्ततः जनकपुर फाइनल पुगेको थियो ।
प्रभावशाली खेलाडीको विकेट चड्काएपछि शर्मा एनपीएलमा सबैभन्दा चर्चित खेलाडी बन्न पुगेका छन् । फाइनलमा पुग्न नसके पनि शर्माले एनपीएलमा सबैभन्दा बढी चर्चा बटुलेका छन् ।
८ खेलका १७४ बलमा १७१ रन दिएका शर्माको इकोनोमी ५.८९ को रहेको छ । १६ वर्षको उमेरका शर्माले तत्काल यु–१९ टीम र विस्तारै राष्ट्रिय टीमको लागि ढोका खोल्न सक्ने देखिन्छ ।
पछिल्लो समय लेग स्पीनर सन्दीप लामिछानेको खस्कँदो प्रदर्शनबीच नयाँ अनुहारका शर्मा भरपर्दो विकल्प बनेर उदाउने बाटोमा छन् ।
२. ओपनिङमा देब्रे हाते खरेल
न्युजिल्यान्ड बस्ने दिनेश खरेल एनपीएल खेल्नकै लागि नेपाल आएका थिए । उनले पोखराको ब्याटिङ लाइनअपमा ओपनिङ गर्दा ५ क्लबविरुद्ध खेले ।
जसमा लुम्बिनी लायन्सविरुद्ध नटआउट ६१, काठमाडौंविरुद्ध ३८, कर्णालीविरुद्ध २६, सुदूरपश्चिमविरुद्ध १५ र विराटनगरविरुद्ध ११ रन जोडे । सात खेलबाट एक अर्धशतकसहित खरेलले १६२ रन बनाए । २ वर्षको उमेरमा न्युजिल्यान्ड गएका खरेलले नेपालको राष्ट्रिय टीमबाट खेल्न पाए कहिल्यै नाइँ नभन्ने प्रतिक्रिया दिएका छन् ।
उनी नवौं राष्ट्रिय खेलकुदमा एनआरएनको टोलीबाट खेल्न नेपाल आएका थिए । यसपटक एनपीएलमा सी क्याटागोरीमा थोरै रकममा उनी टीममा अनुबन्ध भएका थिए । तर, उनको प्रदर्शन लाखौं रकम हालिएका खेलाडीको भन्दा उम्दा रहन पुग्यो ।

बलरलाई खेल्न गाह्रो हुने बायाँ हाते ब्याटर नेपालमा थोरै मात्रै छन् । यो पोजिसनमा कुशल मल्ल र गुल्सन झा मात्रै भरपर्दा नेपाली खेलाडी हुन् । यसैले देव्रे हाते ब्याटर खरेल ओपनिङकै लागि भरपर्दो खेलाडी बन्न सक्ने देखिएको छ । केही समय अघिसम्म नेपालको ओपनिङ कुशल भुर्तेल र आशिफ शेखले गर्दै आएका थिए । तर, भुर्तेलको लय पूरै बिग्रिएपछि नेपालले ओपनिङमा नयाँ परीक्षण गरिरहेको छ । तर, सफल भइरहेको छैन ।
यस्तोमा खरेल भरपर्दो ओपनर बन्ने देखिएको छ । एनपीएलमा नयाँ खेलाडीलाई राष्ट्रिय टीमका प्रशिक्षक मोन्टी देशाइले पनि नजिकबाट निगरानी गरेकाले खरेललाई ढिलोचाँडो नेपाली राष्ट्रिय टीममा बोलाइने चर्चा छ । यतिमात्रै होइन, पछिल्लो लीग डिभिजन दुईमा नेपालको खेल खस्कँदो अवस्थामा रहेकाले खरेल ओपनिङमा भरपर्दा खेलाडी बन्न सक्ने देखिन्छ ।
३. नन्दन यादव
एनपीएलका अर्का खोज एवं छाप छाडेका खेलाडी हुन्, कर्णाली याक्सका नन्दन यादव । कर्णालीले यादवलाई ११ लाखमा किनेको थियो ।
९ मध्ये ८ खेल खेलेका नन्दनले ९ विकेट लिएका छन् । दाहिने हाते मध्यम गतिका बलर नन्दन पछिल्लो समय अष्ट्रेलिया बस्दै आएका छन् ।
एनपीएलमा लुम्बिनीविरुद्ध ५ रनको रोमाञ्चक जीत दर्ता गराउँदा अन्तिम ओभरमा नन्दनले कर्णालीका लागि जादुयी बलिङ गरेका थिए ।
अन्तिम ओभरमा ९ रन चाहिँदा नन्दनले ३ रन मात्रै दिएका थिए ।

यो खेलमा १ विकेट मात्रै लिए पनि डेथ ओभरको यो बलिङले नन्दनलाई प्रभाव पार्न सक्ने खेलाडीका रूपमा चर्चा गरिएको छ ।
विराटनगर किंग्सविरुद्ध ७ रनको रोमाञ्चक जीत दर्ता गर्दा यादवले अन्तिम ओभरमा ७ रन मात्रै दिएका थिए । यादवले ४ ओभरमा १९ रन दिएर ३ विकेट लिँदा टीमले जीतको आधार तयार पारेको थियो ।
नन्दनले २ विकेट लिएपछि चितवनविरुद्धको इलिमिनेटरमा कर्णाली विजयी भएको थियो । तीन वर्ष अगाडि एभरेस्ट प्रिमियर लीगमै राम्रो प्रदर्शन गर्दा उनले राष्ट्रिय टीममा अवसर पाए खेल्ने बताएका थिए ।
४. रिजन ढकाल
एनपीएलमा प्रभाव जमाएका अर्का खेलाडी हुन्, रिजन ढकाल । राष्ट्रिय टीममा परेर डेब्यु खेलमै विकेट लिएका ढकालले एनपीएलमा चितवन राइनोजबाट खेल्दै राम्रो प्रभाव देखाएका छन् ।
ढकालले ८ खेलमा २८.५ ओभर बलिङ गर्दै २३२ रन दिएर १३ विकेट लिएका छन् । उनको उत्कृष्ट प्रदर्शन ३ विकेट लिएर १० रन मात्र दिनु हो ।
ढकालको इकोनोमी ८.०४ रहेको छ । फाइनल बाँकी हुँदा जारी एनपीएलमा ढकाल बढी विकेट लिने खेलाडीको सूचीमा चौथो स्थानमा छन् । बढी विकेट लिनेमा ललित राजवंशी १६, विपिन शर्मा १३ विकेटपछि ढकाल तेस्रोमा रहेका नेपाली खेलाडी हुन् ।

राष्ट्रिय टीममा रहेका तीव्र गतिका बलर करण केसीको भरपर्दो विकल्पमा ढकाल पर्ने देखिएको छ । एनपीएलमा बढी विकेट लिनेमध्ये करण परे पनि राष्ट्रिय टीममा उनको समेत अब विकल्प हेर्न थालिएको छ । यसैले हेटौंडाका तीव्र गतिका बलर ढकाल राष्ट्रिय टीममा स्थान बनाउन सक्ने खेलाडीको रूपमा अगाडि आएका छन् ।
उनले राष्ट्रिय टीमबाट डेब्यु खेलमै २०८० मा क्यानडाविरुद्ध विकेट लिएका थिए । एकदिवसीयमा ढकालले ३ अन्तर्राष्ट्रिय खेल मात्रै खेलेका छन् ।
२५ वर्षीय ढकालले ६ वटा टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् ।
५. किशोर महतो
जनकपुर बोल्टस्का किशोर महतो एनपीएलबाट पुनः चर्चामा आएका अर्का भरपर्दा बलर हुन् ।
२५ वर्षीय मिडियम फास्ट बलर महतो एनपीएलमा सबैभन्दा बढी विकेट लिने खेलाडीको सूचीमा १० औं नम्बरमा छन् । ९ खेलमा २४० रन दिँदा महतोले ८ रनको इकोनोमीमा ११ विकेट लिएका छन् ।

एक दिवसीय खेलमा स्कटल्यान्डविरुद्ध महतोले २०२२ मै डेब्यु गरेका गरेका थिए । २ एकदिवसीयमा महतोले २ विकेट लिएका छन् ।
लिस्ट एका ५ खेलमा महतोले ७ विकेट लिएका छन् । करण केसी र सोमपाल कामीको विकल्पमा महतो राष्ट्रिय टीममा पर्न सक्ने बलिया दाबेदार हुन् ।
र, यी पनि
सात–सात विकेट लिएका शेर मल्ल र दीपेश कँडेल तथा १९ वर्षीय नरेन साउद पनि एनपीएलमा प्रभाव पार्ने बलर हुन् । यीमध्ये स्पिनर मल्ल अलराउन्डरको भूमिकामा खेल्न सक्ने खेलाडी हुन् । कर्णालीविरुद्धको दोस्रो क्वालिफायरमा जनकपुरलाई फाइनलमा पुर्याउन मल्लले १० बलमा नटआउट १६ रनको महत्त्वपूर्ण इनिङ खेलेका थिए ।
जिमी निशम आउट भएपछि मल्ल र मयान यादवले जनकपुरलाई फाइनलमा पुर्याउँदै सुदूरपश्चिमसँगको भेट पक्का गरेका थिए । मल्लले यही खेलमा एक ओभर बलिङ गर्दै कर्णालीका कप्तान सोमपाल कामीको विकेट लिएका थिए । बलिङ र ब्याटिङ दुवै गर्न सक्ने २२ वर्षीय मल्ल पनि भविष्य भएका खेलाडी हुन् ।






