प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणको मिति तय गर्ने अपेक्षासहित भएको परराष्ट्रमन्त्री देउवाको दिल्ली भ्रमण खल्लो भएको छ ।
आरजुको अथक प्रयासका बाबजुद भारतको संस्थापन पक्षले उनलाई भेट्न इन्कार गरेको उच्च स्रोतले बतायो ।

विभिन्न युरोपेली मुलुकको भ्रमणपछि परराष्ट्र मन्त्री देउवा बिहीबार भारतको राजधानी नयाँ दिल्ली पुगेकी थिइन् ।
आरजुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका सुरक्षा सल्लाहकार अजित डोभाल, विदेशमन्त्री डा. एस जयशंकर, गृहमन्त्री अमित साह, रक्षामन्त्री राजनाथ सिंह, विदेश मन्त्रालयका सचिव विक्रम मिश्री, भारतीय गुप्तचर संस्था रअका प्रमुख र भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग इन्चार्ज डा. विजय चौथाइवालेसँग भेट्न खोजेकी थिइन् ।
तर, सबैले आफ्नो व्यस्त शेड्युल देखाएर भेट्न इन्कार गरेको स्रोतको दाबी छ ।
‘आरजुले भेट्न चाहेका कसैले पनि समय दिएनन्, सबैको उस्तै सन्देश थियो– पछि भेटौंला,’ स्रोतले भन्यो । स्मरणीय छ, चौथाइवालेलाई आरजुले रक्षाबन्धनका बेला राखी लगाइदिएकी थिइन् ।
नयाँ दिल्लीमा समकक्षी डा. एस जयशंकर लगायतसँग भेटेर प्रधानमन्त्री ओलीको भ्रमणको मिति तय गर्ने नेपाली पक्षको अपेक्षा थियो । तर, भारत सरकारका प्रतिनिधि मात्र नभई सत्तारुढ भारतीय जनता पार्टीका नेताहरूसँग समेत भेट हुन सकेको छैन ।
यसअघि गत भदौ पहिलो साता भएको भ्रमणका बेला आरजुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्ने अवसर पाएकी थिइन् । नयाँ दिल्लीमा आरजुलाई ‘प्रधानमन्त्रीसरह ट्रिट’ दिएको भनेर नेपालमा चर्चा भएको थियो ।
आरजुको जोडबलमा संयुक्त राष्ट्रसंघको महासभाका बेला अमेरिकाको न्युयोर्कमा प्रधानमन्त्री ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको थियो ।
पहिलो औपचारिक भ्रमण भारतबाट गर्ने ‘परम्परा’ तोडेर प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा गएको विषयलाई भारतले सहज नलिएको कतिपयको बुझाइ छ । ओलीले डिसेम्बर २ देखि चीनको भ्रमण गरेका थिए । भ्रमणका क्रममा बीआरआई फ्रेमवर्कमा हस्ताक्षर भएको थियो ।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार मन्त्री देउवाले भ्रमण २ दिन लम्ब्याएकी छिन् ।
शनिबार फर्किने पूर्वनिर्धारित कार्यक्रम रहेको भएपनि अब उनी सोमबार मात्र फर्किने छिन् । ‘अझै पनि भारतीय अधिकारीलाई भेट्ने प्रयास जारी छ,’ स्रोतले भन्यो ।
शुक्रबार आरजुले दिल्लीमा भएको नेपाल–भारत आर्थिक सम्मेलनलाई सम्बोधन गरेकी थिइन् । आरजुले सम्बोधन गरेको कार्यक्रममा नेपालका लागि भारतका पूर्व राजदूतहरू सहभागी भएका थिए ।
दिल्लीमा परराष्ट्रमन्त्रीको राजनीतिक भेटवार्ता हुन नसकेपछि प्रधानमन्त्री ओलीको भारत भ्रमण अनिश्चित बनेको छ ।
चीनबाट फर्केपछि मंसिर २० गते ओलीले छिट्टै भारत भ्रमण ‘एरेन्ज’ गर्ने बताएका थिए ।






