हुन त वडाको उपचुनावको उतिसारो चर्चा नहुनुपर्ने हो। तर, आगामी १६ गते उपचुनाव हुन लागेको काठमाडौँ महानगरपालिका वडा नम्बर १६ ले धेरैको ध्यान खिचेको छ।
उम्मेदवारी दिने राजनीतिक दल र स्वतन्त्रको नामावली हेर्दा सो वडाको चुनावी नतिजाप्रति धेरैको चासो रहेको देखिन्छ।

भाइरल वडाध्यक्षको उपनाम पाएका मुकुन्द रिजालको गएको भदौ २१ गते निमोनियाबाट निधन भएपछि सो पद रिक्त भएको हो। आइतबार सो वडामा ८ दलसहित ११ स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गराए।
नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा एकीकृत समाजवादी जित्ने रणनीति बनाएर आक्रामक प्रचार थालेका छन्। यी चारै दलका लागि यो वडा निकै महत्त्वपूर्ण देखिन्छ।
रिजालको मृत्यु भएर रिक्त भएकाले कांग्रेसले आफ्नो वडा गुम्न नदिन सबै तयारी गरेको काठमाडौँ जिल्ला सभापति सबुज बानियाँले बताए। कांग्रेसले सोही वडाका ४२ वर्षे देवेन्द्र पाठकलाई उठाएको छ।
यद्यपि, उम्मेवार चयनका विषयमा केही नेताले असन्तुष्टि जनाएका थिए। जसले गर्दा कांग्रेसले उम्मेदवारी दर्ता गर्नेबेलामा मात्र विवाद सुल्झाएको बानियाँले दाबी गरे।
उनका अनुसार पार्टीभित्र टिकट वितरणका विषयमा देखिएको विवाद हल भइसकेको छ।
‘हाम्रो पार्टी चुनावी प्रचारमा मुभ भइसक्यो,’ उनले भने, ‘अब पार्टी एकताबद्ध भएर खटिने समझदारी बनेको छ। उम्मेदवार बन्न चाहने सबैको माग सम्बोधन गरिएको छ। उहाँहरू एकीकृत रूपमा लाग्नुहुनेछ।’
पार्टीका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले विवाद साम्य पारेका हुन्। आफैँले जितेको वडा भएकोले फेरि जित्नैपर्ने दबाबमा कांंग्रेस छ।
‘काठमाडौँमा बसोबास गर्ने कांग्रेसका पदाधिकारीदेखि केन्द्रीय सदस्य, महासमिति सदस्य सबैलाई चुनावमा खटाउने छौँ,’ बानियाँले थपे।
६३ वर्षे लक्ष्मीरत्न तुलाधरलाई उठाएको एमाले १६ नम्बर जित्ने रणनीतिसहित वडामा केन्द्रित भइरहेको छ।
२०७९ वैशाखमा भएको चुनावमा पार्टीभित्रकै एउटा पंक्तिले असहयोग गर्दा पराजित भएकोले यसपटक पूरै पार्टी एकताबद्ध भएको एमाले नेता दाबी गर्छन्।
एमाले काठमाडौँका इन्चार्ज समेत रहेका पोलिटब्युरो सदस्य आनन्द पोखरेलका अनुसार कात्तिक २० गतेदेखि चुनाव प्रचार भइरहेको छ।
‘विगतमा आन्तरिक विवादका कारण हार्यौँ, यसपटक पार्टी एकढिक्का छ,’ पोखरेलले नेपालखबरसँग भने, ‘त्यहाँको समुदायले रुचाएका व्यक्तिलाई सर्वसम्मत उम्मेदवार बनायौँ।’
त्यसो त एमाले छोडेर बसेका रामवीर मानन्धर फर्किएपछि जित्ने आधार थप बलियो भएको उनी बताउँछन्। सो क्षेत्रमा रामवीरको प्रभाव राम्रो रहेकोले एमालेको मनोबल उच्च देखिन्छ।
‘रामवीरजी चुनावी प्रचारमा लागिरहनुभएको छ,’ उनले भने, हामीले मेहनत गरेका छौँ।’
एमालेले मुकुन्द रिजालको व्यक्तिगत मतले जितेको भन्दै यसपटक कांग्रेस उम्मेदवार पाठकले सबै मत नपाउने विश्लेषण गरेको छ।
एमालेको बुझाइमा ‘कांग्रेसको उम्मेदवार सबैभन्दा कमजोर छन्। कांग्रेस एकताबद्ध छैन।’
एमालेले जुनसुकै हालतमा काठमाडौँ १६ गुम्न नदिने पोखरेल बताउँछन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सो वडामा प्रभावशाली महिला अभियन्ता रोजिना श्रेष्ठलाई उठाएको स्थानीय तह उपनिर्वाचन केन्द्रीय संयोजन समिति संयोजक समेत रहेका केन्द्रीय सदस्य र सांसद गणेश पराजुलीले बताए।
कानुनमा मास्टर्स गरेकी उनी स्थानीय हुन्। यस्तै, रास्वपाले उपचुनावको लागि बनाएको निर्वाचन क्षेत्र परिचालन समितिकी संयोजक हुन्।
‘हाम्रो केन्द्रीय कार्यालय सोही वडामा छ। यस्तै, प्रतिनिधि सभामा ६, ७ र ८ नम्बर रास्वपाले नै जितेको भएर वडाको चुनाव जित्नेगरी खटिएका छौँ,’ पराजुलीले भने, ‘यसलाई महत्त्वको साथ हेरेका छौँ।’
उम्मेदवारी मनोनयन गर्दा देखिएको उत्साहले आत्मबल थप बलियो भएको उनले बताए।
माओवादी केन्द्रसँग गठबन्धन गरेकोले नेकपा एकीकृत समाजवादी पनि जित निकाल्नेमा आशावादी देखिन्छ।
एकीकृत समाजवादीले सो वडामा ६० वर्षका मीनबहादुर मानन्धरलाई वडाध्यक्षमा उठाएको छ।
‘हामीले यसपटक राम्रो तयारी गरेर बलियो उम्मेदवार उठाएका छौँ,’ उपाध्यक्ष जगन्नाथ खतिवडाले भने, ‘समाजवादी मोर्चाको मत हामीलाई आउँछ।’
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट ४१ वर्षका राजकुमार थापा, रास्वपाबाट वर्ष ४६ की रोजिना श्रेष्ठ, राप्रपाबाट श्यामकृष्ण श्रेष्ठ (वर्ष ५८), जसपाबाट सानुमैया राउत क्षेत्री पुतुवार (५०) को उम्मेदवारी परेको छ।
नेपाल मजदुर किसान पार्टीबाट २३ वर्षे न्हुज महर्जनले उम्मेदवारी दिए। उनी सबैभन्दा कम उमेरका उम्मेदवार हुन्।
यी हुन् ११ जना स्वतन्त्र उम्मेदवार
राजनीतिक दलबाट मात्र होइन, वडा १६ मा स्वतन्त्रबाट पनि धेरैको उम्मेदवारी परेको छ।
सबैभन्दा कम उमेरदेखि ६१ वर्षसम्मका उम्मेदवार छन्।
२७ वर्षका अन्जन श्रेष्ठ, २८ वर्षे किसान श्रेष्ठको पनि उम्मेदवारी परेको छ।
यसैगरी, ३२ वर्षे हिराप्रसाद सेती, ३५ वर्षका प्रकाश पन्त, ४२ का देवेन्द्र कुमार श्रेष्ठ, ४१ वर्षका रमेश बलामी, ४९ वर्षे विक्रम चित्रकार, ४४ वर्षे सम शाक्य र ५१ वर्षे सूर्यबहादुर बैदारले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन्।
६१ वर्षका पशुपति कठायतको पनि स्वतन्त्रबाट उम्मेदवारी दिएका छन्।






