अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यु मिलरले भारतीय गुन्डा नाइके लरेन्स बिश्नोईका भाइ अनमोल बिश्नोई अमेरिकामा पक्राउ परेको विषयमा प्रतिक्रिया दिएका छन्।
बीबीसी हिन्दीका अनुसार मिलरलाई भारतीय सुरक्षा अधिकारीहरूले एफबीआई अधिकारीहरूसँग अनमोल बिश्नोईको सुपुर्दगीबारे छलफल गरिरहेको विषयमा जिज्ञासा राखिएको थियो।

जवाफमा उनले यस विषयमा टिप्पणी गर्नु आन्तरिक सुरक्षा र एफबीआईका लागि मात्र नभएर राज्य विभागको लागि समेत उचित नहुने बताए।
मिडिया रिपोर्टअनुसार अनमोलविरुद्ध भारतीय नेता बाबा सिद्दिकीको हत्या र अभिनेता सलमान खानको घरबाहिर गोली प्रहारलगयात कैयौँ अपराधमा संलग्न रहेको आरोप लागेको छ।
उनलाई अमेरिकाको अध्यागमन विभागले गत हप्ता क्यालिफोर्नियामा हिरासतमा लिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
हालै मुम्बईको बान्द्रा इस्टमा बाबा सिद्दिकीको हत्या भएको थियो।






