विवादमा मुछिएपछि राजीनामा दिएका कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीमाथि मानव तस्करीको गम्भीर आरोप लागेको छ । मानव तस्करीको गम्भीर आरोपमा मुछिएपछि उनले पदबाट राजीनामा दिएको टिप्पणी भैरहेको छ ।

स्वयं मन्त्री अधिकारीले पनि मानव तस्करीबारे मुख खोलेका छन् । मानिसहरूलाई जापान पठाउन धन्दामा ठूलै गिरोह संलग्न रहेको उनले बताए । गिरोहको फन्दामा आफू पनि परेको उनको भनाइ छ । छानबिनमा सहज होस् भनेर आफूले राजीनामा दिएको उनले बताए ।

प्रदेश सरकार र मुख्यमन्त्रीलाई जानकारीसमेत नदिई अधिकारी कात्तिक १३ गते जापान उडेका थिए । उनीसँगै नक्कली परिचयपत्र बनाएका तीन व्यक्ति पनि जापान गएका थिए । लुकिछिपी जापान बस्ने योजनासहित गएका उनीहरूलाई टोकियो विमानस्थलबाटै डिपोर्ट गरिएपछि मन्त्री अधिकारीको पद फुस्केको हो । नक्कली परिचयपत्र बनाएर गएका तीन जना पक्राउ परेका छन् । प्रहरीले तीनसहित ६ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।
तर, कसले जापान बोलायो र कसरी उनी गिरोहसँग जोडिएर हिँडे भन्नेबारे केही खुलाएका छैनन् ।

नेपालबाट जापानको लागि आफू एक्लै उडेकोमा हङकङ ट्राञ्जिटमा तीन व्यक्तिले मन्त्रालयको परिचयपत्रसहित तपाईंसँगै जापान जान लागेको बताएको उनले दाबी गरे । आफू फसेको जानकारी पाएपछि प्रहरीलाई खबर गरेको र जापानको कार्यक्रममा सहभागी नभई नेपाल फर्किएको उनले बताए ।

आफ्नोजस्तो निजी भ्रमणमा धेरै मान्छे गएको दाबी गर्दै अधिकारीले कोशी प्रदेशकै बहालवाला मन्त्रीहरू कुनै निर्णय र अनुमतिबिना भारत गएको पनि दाबी गरे । ‘प्रश्न उठेपछि आफैं राजीनामा दिएको हुँ,’ उनले भने, ‘आयोजकहरूसँग नै दलालको संलग्नता भएको आशंका उत्पन्न भएको छ । प्रहरीले अनुसन्धान गर्दैछ ।’

आफूसँग जापान जान खोजेका व्यक्तिलाई नचिने उनको दाबी छ । ‘मलाईसमेत फसाउन खोजेको रहेछन्, ठुलो सञ्जाल यसमा जोडिएको जानकारी पाएको छु,’ उनले भने, ‘ठूला मान्छे र ठूला नेता पनि संलग्न रहेकोले उनीहरू पनि पक्राउ पर्ने जानकारी छ ।’

एमालेको पार्टी कार्यालय र संसदीय दलको कार्यालयमा रहने आफ्नै निर्वाचन क्षेत्रको एक व्यक्तिमार्फत् कार्यक्रमको निम्ता आएको उनले बताए । तर, ती व्यक्तिबारे भने उनले जानकारी दिएन चाहेनन् । ‘उसलाई पनि फसाएको हो, ऊ निर्दोष छ,’ उनले भने, ‘मेरै निर्वाचन क्षेत्रको मान्छे हो, मुख्यमन्त्रीलाई पनि उसको बारेमा जानकारी दिएको छु ।’

अधिकारीसँगै जापान उडेका खोटाङ घर भएका ३६ वर्षीय दावा शेर्पा, खोटाङकै जनक राई र रसुवा घर भएका २२ वर्षीय कञ्चन देवकोटालाई जापानको अध्यागमनले डिपोर्ट गरेको थियो ।

अधिकारीले आफूसँगै तीन जना नक्कली कागजात बनाएर जापान जान लागेको थाहा पाएपछि कार्यक्रममा सहभागी नभई नेपाल फर्किएको दाबी गरेका थिए । तर, उनी आफैं नेपाल फर्किएको नभई जापानको अध्यागमनले विमानस्थलमै २४ घण्टासम्म रोकेर डिपोर्ट गरेको पाइएको छ ।

काठमाडौं विमानस्थलमा ओर्लिएपछि तीन जनालाई अध्यागमन कार्यालय र त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले नियन्त्रणमा लिएर उपत्यका अपराध अनुसन्धान कार्यालयलाई जिम्मा लगाएको थियो । मन्त्री अधिकारी भने विमानस्थलबाट सहजै बाहिरिएको पाइएको छ । उनीमाथि पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर