सरकारलाई सफल र प्रभावकारी बनाउन भन्दै सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसले दुई दलीय राजनीतिक संयन्त्र बनाएको छ।
संयन्त्रको कार्यदलमा नेपाली कांग्रेसको तर्फबाट ४ र नेकपा एमालेको तर्फबाट ४ जना सदस्य रहेका छन्। जसमा कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री रमेश लेखक, महामन्त्री गगनकुमार थापा, परराष्ट्रमन्त्री आरजु राणा देउवा रहेका छन्।

त्यस्तै, नेकपा एमालेका तर्फबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल र उपमहासचिव विष्णु रिमाल छन्।
कांग्रेस सभापति देउवाका निजी सचिव केशवराज जोशीका अनुसार, प्रदेश र जिल्ला तहमा पनि दुई दलीय संयन्त्र बनाउने निर्णय भएको छ।
त्यस्तै, बैठकले आगामी डिसेम्बरमा हुने प्रधानमन्त्री ओलीको चीन भम्रणको तयारीका लागि ओली र देउवाको निर्देशनमा परराष्ट्रमन्त्री देउवालाई जिम्मेवारी दिएको छ।
‘दुई नेताको निर्देशनअनुरूप संयन्त्रको कार्यदलले भ्रमणका लागि आवश्यक गृहकार्यमा सहजीकरण गर्ने,’ निर्णयमा भनिएको छ।







