भूमि व्यवस्थापन तथा अभिलेख विभागका तत्कालीन महानिर्देशक कृष्णप्रसाद सापकोटाले ठूलो संख्यामा मालपोतका कर्मचारी सरुवा गर्दा साढे ७ करोडभन्दा बढी रकम उठाएको निष्कर्षसहित छानबिन समितिले प्रतिवेदन बुझाएको छ ।

विभागले गरेको सरुवामा व्यापक अनियमितता भएको भन्ने उजुरीउपर सम्बोधन गर्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले गठन गरेको समितिले मन्त्री बलराम अधिकारी र सचिव अर्जुनप्रसाद पोखरेलसमक्ष बुधबार प्रतिवेदन बुझाएको छ ।

कात्तिक २ गते मन्त्री अधिकारीले मन्त्रीस्तरीय निर्णयबाट कर्मचारी प्रशासन महाशाखा प्रमुख मदन कोइराला, प्रशासन शाखा प्रमुख उपसचिव कृष्णप्रसाद भण्डारी र कानून अधिकृत गोकुल भुजेल रहेको छानबिन समिति बनाएका थिए ।

सोही छानबिन समितिले बुधबार मन्त्री तथा सचिवसमक्ष बुझाएको प्रतिवेदनमा साढे ७ करोड रुपैयाँ उठाएर मनलाग्दी सरुवा गरेको निष्कर्ष समावेश छ । मन्त्रालय उच्च स्रोतका अनुसार महानिर्देशकले सरुवा गर्दा ५ देखि १५ लाख रुपैयाँसम्म प्रतिव्यक्ति रकम असुलेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

‘उपत्यकाभित्र र तराईका मालदार कार्यालयमा सरुवा गर्दा महानिर्देशकले ५ लाखदेखि १५ लाखसम्म रकम बुझी करिब साढे ७ करोड रकम असुलेको सरुवा हुने कर्मचारी तथा मन्त्रालयका उच्च तहका अधिकारीहरूले आकलन गरेका छन्,’ छानबिन समितिको प्रतिवेदनमा भनिएको छ ।

प्रतिवेदनमा उठाइएका विषयवस्तुमाथि आवश्यक कारबाही गर्नका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राष्ट्रिय सतर्कता केन्द्रमा समेत पठाउन छानबिन समितिले सिफारिश गरेको ती कर्मचारीले खुलाए ।

विभागका तत्कालीन महानिर्देशक कृष्णप्रसाद सापकोटा, उपसचिव हरिकृष्ण सुवेदी र प्रशासन शाखा अधिकृत तेजनाथ पोखरेलको निर्णयले २०८१ असोज १ देखि १५ गतेसम्म ४८१ जना कर्मचारीको सरुवा गरिएको छानबिनमा पाइएको छ, जसमध्ये मालपोत अधिकृत ४६ जना, नायब सुब्बा २५४ जना, कम्प्युटर अपरेटर ४४ जना र खरिदार १०४ जनाको सरुवा भएको छ ।

काठमाडौं उपत्यकाबाट उपत्यकाभित्रै मालपोत अधिकृत ७, नायब सुब्बा ४१, कम्प्युटर अपरेटर ७ र खरिदार १६ जनाको सरुवा भएको पाइएको प्रतिवेदनमा उल्लेख छ ।

गत भदौ १ गतेभन्दा अगावै पनि महानिर्देशकले अनियमित रूपमा कामकाज गर्न कर्मचारी हेरफेर गर्दा ९६ जना कर्मचारीको सरुवा गरेको पाइएको समेत प्रतिवेदनमा उल्लेख गरिएको छ ।

सरुवा कार्यान्वयन नगर्न सिफारिश

२०८१ असोज १ देखि १५ गतेसम्म काठमाडौं उपत्यकाका कार्यालयबाट उपत्यकाभित्रै (काभ्रेसमेत) भएका सरुवालाई कार्यान्वयन नगरी २ वर्ष सेवा अवधि पुगेकालाई मात्र सरुवा गर्न समितिले सिफारिश गरेको मन्त्रालयका अर्का एक कर्मचारीले बताए ।

२०८१ असोज १ देखि १५ सम्म भएको मानवीय समवेदनालाई समेत ख्याल गरी कारण खोलेर निवेदन पेश गरेका नायब सुब्बाको सरुवा पनि कार्यान्वयन नगर्न समितिले सिफारिश गरेको छ ।

सरुवा तथा पदस्थापनसम्बन्धी मापदण्ड एक महिनाभित्र तयार गरी मन्त्रालयबाट स्वीकृत गराउन, विभाग र अन्तर्गतका कर्मचारीहरू के कुन अवस्थामा छन् भन्ने कुरा प्रस्ट देखिने गरी विद्युतीय प्रणाली तयार पार्न समेत समितिले सिफारिश गरेको छ ।

वर्षमा एकपटकमा मात्र कानूनबमोजिम सेवाअवधि पुगेका कर्मचारीको सरुवा गर्न, कामकाजमा मात्र खटाउने अस्पष्ट प्रणालीलाई हटाउन र कानूनबमोजिम मात्र सरुवा गर्न समेत समितिले सिफारिश गरेको छ ।

निजामती सेवा ऐन, २०४९ र निजामती सेवा नियमावली, २०५० बमोजिम कम्तीमा २ वर्ष सेवा अवधि नपुगी सरुवा गरेकोमा कर्मचारीहरूले छोटो समयमा बारम्बार सरुवा गरिदएको भन्दै मन्त्रालयमा लिखित उजुरी गरेका थिए ।

त्यसैगरी, निरन्तर अस्पतालको नजिक रही स्वास्थ्य जाँच गरिरहरनुपर्ने दीर्घरोगी कर्मचारी र घरायसी समस्याका कारण अन्यत्र सरुवा हुँदा जागिर नै छाड्नुपर्ने अवस्था हुँदा पनि सरुवा गरिएको भन्दै उजुरी परेको थियो ।

बुवा-आमा जीवनको उत्तरार्धमा पुगी नियमित रेखदेख र अस्पताल लैजानुपर्ने अवस्थाका कर्मचारीले सरुवा नगरिदिन अनुरोध गर्दा पनि सरुवा गरेको भन्दै पनि उजुरी परेको थियो ।

सरुवामा चित्त नबुझी सेवा अवधि नपुग्दै सरुवा गरेको मानवीय संवेदनालाई आधार कारण खुलाइ निवेदन दिएकोमा समेत सरुवा गरेको भनी निवेदन गर्ने कर्मचारीहरू मालपोत अधिकृत ३ जना, नायब सुब्बा ३९ जना, कम्प्युटर अपरेटर २ जना र खरिदार ३ जना रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

प्रतिवेदन कार्यान्वयनमा मन्त्री सकारात्मक देखिए पनि सचिव मौन

विभागले गरेको सरुवामा अनियमितता खुलाई प्रतिवेदन पेश भएपछि मन्त्री र सचिवले सरुवालाई बदर गर्न सक्लान् त भन्ने प्रश्न कर्मचारीवृत्तमा उठेको छ ।

विभागीय मन्त्री बलराम अधिकारी छानबिन समितिको प्रतिवेदनका सिफारिश कार्यान्वयन गर्ने सन्दर्भमा विभागलाई लिखितरूपमा निर्देशन दिने निर्णय गर्ने तयारीमा रहेको मन्त्रालयका अर्का एक कर्मचारीले बताए ।

तर, मन्त्रालयका सचिव पोखरेल भने यस विषयमा मौन रहेको ती कर्मचारीले खुलाए ।

‘माननीय मन्त्रीज्यू छानबिन समितिको प्रतिवेदन सिफारिश कार्यान्वयन गर्ने पक्षमा नै अहिलेसम्म देखिनुभएको छ,’ ती कर्मचारीले लोकान्तरसँग थपे, ‘तर, सचिवज्यूले भने त्यसमा केही बोल्नुभएको छैन । कार्यान्वयन गर्ने वा नगर्ने भन्ने विषयमा उहाँ मौन नै देखिनुले पनि कार्यान्वयन हुनेमा कर्मचारी वृत्त विश्वस्त हुन सकेका छैनन् ।’

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर