२४ असोज, काठमाडौं । भौतिक पूर्वाधार मन्त्रालयका सचिव केशव शर्माले शुक्रबार बिहान १० बजेसम्ममा बीपी राजमार्ग सञ्चालनमा आउने जानकारी प्रधानमन्त्री केपी शर्मा ओलीलाई गराएका छन् । यो जानकारी प्रधानमन्त्री ओली आफैंले फेसबुकमार्फत् दिएका हुन् ।
यही असोज ११ र १२ गतेको वर्षा र बाढीले बीपी राजमार्गका ठाउँ ठाउँमा क्षति पुर्याएको थियोे । त्यतिबेलैदेखि सवारी आवागमन ठप्प भएको छ । राजमार्ग मर्मत र डाइभर्सन गर्ने काम जारी छ ।

प्रधानमन्त्री ओलीसँग आज बिहान भएको कुराकानीमा सचिव शर्माले शुक्रबार बिहान १० बजेपछि वीपी राजमार्ग सञ्चालनमा आउने जानकारी गराएका हुन् । आज दिनभर र रातभर काम गर्दा बाँकी तीन ठाउँको अवरोध पनि हट्ने र राजमार्ग खुलेपछि मात्रै आफूले दशैं मनाउने जानकारी सचिव शर्माले गराएको ओलीले उल्लेख गरेका छन् ।
सडक खुलाउन अहोरात्र खटिएका प्राविधिक सहित सम्पूर्ण टिमलाई प्रधानमन्त्री ओलीले धन्यवाद पनि भनेका छन् ।









