वैशाख, काठमाडौं । एथ्लेटिक्समा छोटो दूरीको दौड (स्प्रिन्ट) को खुबै चर्चा हुन्छ । प्रतिष्ठित अन्तर्राष्ट्रिय प्रतियोगिता ओलम्पिकमा एथ्लेटिक्सको १०० मिटर दौड मुख्य विधा मानिन्छ र यसको रोमाञ्चकता पनि छुट्टै हुन्छ ।
नेपालमा भने स्प्रिन्टको खासै चर्चा हुँदैन । सन् १९९९ मा काठमाडौंमा भएको आठौं साउथ एसियन गेम्समा रामकृष्ण चौधरीले १०:७१ सेकेण्डको दौड पूरा गरेर १०० मिटर दौडमा राष्ट्रिय कीर्तिमान बनाएका थिए । उनको यो कीर्तिमान कसैले तोड्न सकेको छैन ।

तिलकराम थारुले सन् २०११ मा १०.५ सेकेण्डको टाइमिङ निकाले पनि त्यो ह्याण्ड टाइमको कीर्तिमान मात्र मानियो ।
गत हप्ता काठमाडौंमा भएको १४औं राष्ट्रपति रनिङ शिल्डमा स्प्रिन्ट विधाको १०० र २०० मिटर दुवै इभेन्टमा स्वर्ण जितेका रौतहटका आदेशकुमार यादवले भने रामकृष्णको कीर्तिमान तोड्ने लक्ष्य राखेका छन् । ‘एक दिन नेपालकै फास्टेस्ट स्प्रिन्टर बन्ने लक्ष्य छ’, आदेश भन्छन् ।
जुनियरस्तरको राष्ट्रिय प्रतियोगिता राष्ट्रपति रनिङ शिल्डमा १७ वर्षीय आदेशले १०० मिटरको दूरी ११:२० सेकेण्डमा र २०० मिटर दूरी २२.८ सेकेण्डमा पूरा गरे ।
‘एकदमै खुशी छु । दोस्रो प्रयासमा दुवै इभेन्टमा स्वर्ण जित्न सफल भएँ’, आदेशले अनलाइखबरसँग भने ।
यसअघि १३औं संस्करणको राष्ट्रपति रनिङ शिल्डमा आदेशले १०० मिटर दौड ११.४ र २०० मिटर दौड २३.२ सेकेण्डमा पूरा गरेका थिए । त्यतिबेला उनले १०० मिटर दौडमा रजत र २०० मिटर दौडमा कांस्य पदक जितेका थिए ।






