एसपी यादव/सर्लाही, २२ कात्तिक । सर्लाहीको सदरमुकाम मलंगवास्थित सर्लाही क्याम्पसमा आगामी शैक्षिक सत्रदेखि व्यवस्थापन संकायतर्फ स्नातक तहको बीबीए र स्नातकोत्तर तहको समाजशास्त्र कार्यक्रम सञ्चालन हुने भएको छ । दुवै शैक्षिक कार्यक्रम सञ्चालनका लागि त्रिभुवन विश्वविद्यालयबाट आधिकारिक अनुमति प्राप्त भएसँगै जिल्लाको उच्च शिक्षा क्षेत्रमा नयाँ अवसर थपिएको छ ।

सर्लाही क्याम्पसका क्याम्पस प्रमुख राजेश कुमार यादवले क्याम्पसलाई उच्च शिक्षाको उत्कृष्ट शैक्षिक केन्द्रका रूपमा विकास गर्ने अभियानमा यो उपलब्धि महत्त्वपूर्ण कोशेढुङ्गा भएको बताएका छन् । उनले क्याम्पस सञ्चालक समिति र क्याम्पस प्रशासनको निरन्तर प्रयास तथा पहलबाट नयाँ शैक्षिक कार्यक्रम सञ्चालन गर्ने अनुमति प्राप्त भएको जानकारी दिँदै यसलाई सर्लाहीवासीका लागि गौरवको विषय भएको बताएका छन् ।

नयाँ कार्यक्रम सञ्चालनमा आएसँगै उच्च शिक्षा अध्ययनका लागि जनकपुर, वीरगञ्ज र काठमाडौंलगायतका सहर जानुपर्ने बाध्यता हदसम्म कम हुने तथा स्थानीय स्तरमै गुणस्तरीय उच्च शिक्षाको पहुँच विस्तार हुने अपेक्षा गरिएको छ ।
सर्लाहीमा लामो समयदेखि उच्च शिक्षा प्रदान गर्दै आएको सर्लाही क्याम्पसमा नयाँ शैक्षिक कार्यक्रम थपिनुले विद्यार्थीको शैक्षिक छनोट फराकिलो बनाउनुका साथै जिल्लाको समग्र शैक्षिक विकासमा समेत योगदान पुर्याउने विश्वास गरिएको छ ।
स्थानीय स्तरमै गुणस्तरीय र व्यावसायिक उच्च शिक्षाको अवसर विस्तार गर्ने लक्ष्यसहित अघि बढेको सर्लाही क्याम्पस प्रशासनका लागि यो उपलब्धि नयाँ शैक्षिक यात्रा सुरु गर्ने अवसरका रूपमा हेरिएको छ । यसले सर्लाहीसहित आसपासका जिल्लाका विद्यार्थीलाई समेत आफ्नै क्षेत्रनजिक व्यवस्थापन र समाजशास्त्र विषयमा उच्च शिक्षा हासिल गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ ।






