एसपी यादव/सर्लाही, असोज १४ गते । सर्लाही प्रहरीले गोली हानी हत्या गरेको घटनामा लामो समयदेखि फरार रहेका एक प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषा जिल्लाको कपटोल स्थायी ठेगाना भई हाल लालबन्दी नगरपालिका-२ मा बस्दै आएका इन्दल पासवान रहेका छन् ।
सर्लाही प्रहरीका प्रवक्ता एवं डीएसपी वेदप्रसाद गौतमका अनुसार, २०६५ साल फागुन १२ गते दिउँसो करिब ३ बजे चिताइन मेला हेर्न जान्छु भनी घरबाट निस्किएका वीरेन पासवान राति करिब १० बजे साविक नेत्रगंज गाविस-२ स्थित खाली जग्गामा छातीमा गोली लागेको अवस्थामा मृत फेला परेका थिए ।

घटनाको अनुसन्धानका क्रममा धनुषा जिल्लाको कपटोल स्थायी ठेगाना भई हाल लालबन्दी नगरपालिका-२ मा बस्दै आएका इन्दल पासवानसमेत घटनामा संलग्न रहेको खुलेको प्रहरीको दाबी छ ।
घटनापछि फरार रहेका पासवानलाई लालबन्दी नगरपालिकाबाट पक्राउ गरिएको डीएसपी गौतमले बताए । उनका अनुसार पक्राउ परेका पासवानलाई अनुसन्धानपछि मंगलबार सर्लाही जिल्ला अदालतको आदेशबमोजिम पुर्पक्षका लागि सर्लाही कारागार मलंगवामा चलान गरिएको छ ।
प्रहरीका अनुसार पक्राउ परेका पासवान यसअघि पनि विभिन्न आपराधिक घटनामा संलग्न रहेको खुलेको छ । उनीविरुद्ध हातहतियार तथा खरखजाना मुद्दामा महोत्तरी जिल्ला अदालतबाट दोषी ठहर भई ६ वर्ष कैद र ६० हजार रुपैयाँ जरिवाना भएको प्रहरीले जनाएको छ ।
त्यसैगरी, पासवानविरुद्ध महोत्तरी र धनुषा जिल्लामा चोरी तथा डाँका मुद्दासमेत चलेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
हत्या गरिएका वीरेन पासवान साविक नेत्रगंज गाविस-२ हाल लालबन्दी नगरपालिका-२ का स्थायी बासिन्दा रहेको प्रहरीले जनाएको छ ।






