एसपी यादव/सर्लाही, असोज १४ गते । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा मधेस प्रदेशका पूर्वप्रदेशसभा सदस्य अशोक यादव कुटपिट, अङ्गभङ्ग तथा आपराधिक उपद्रवसम्बन्धी मुद्दामा ३ लाख रुपैयाँ धरौटीमा बुधबार रिहा भएका छन् ।

सर्लाही जिल्ला अदालत मलंगवाका एक नम्बर इजलासका न्यायाधीश पुष्प थपलियाका अनुसार, अदालतमा उपस्थित भएका यादवलाई न्यायाधीश मनोजकुमार श्रीवास्तवको इजलासले कुटपिट, अङ्गभङ्ग तथा आपराधिक उपद्रवसम्बन्धी दुई फरक मुद्दामा क्रमशः १ लाख र २ लाख गरी कुल ३ लाख रुपैयाँ धरौटी लिएर रिहा गर्न आदेश दिएको हो । अदालतको आदेशपछि यादवले तोकिएको धरौटी रकम बुझाएर रिहा भएका हुन् ।

नेता यादवलाई गत भदौ २३ गते मंगलबार बिहान करिब ९ बजे ललितपुरको धापाखेलबाट पक्राउ गरिएको थियो । जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीमा दर्ता रहेको कुटपिट, अङ्गभङ्ग तथा आपराधिक उपद्रवसम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी भएपछि ललितपुर प्रहरीले उनलाई पक्राउ गरी आवश्यक कानुनी कारबाहीका लागि सोही दिन सर्लाही पठाएको थियो ।

प्रहरीले पक्राउ गरी सर्लाही ल्याएपछि नेता यादवलाई अनुसन्धानका लागि हिरासतमा राखिएको थियो । अनुसन्धानपछि उनलाई सर्लाही जिल्ला अदालत मलंगवामा उपस्थित गराइएकोमा अदालतले ३ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

यसअघि नेता यादव उनीविरुद्ध दर्ता भएका मुद्दाहरूमा उनी कानुनी प्रक्रिया पूरा गरी सर्लाही जिल्ला अदालतबाट धरौटीमा रिहा भइसकेका छन् । तर, उनीसँग सम्बन्धित पुराना घटनासँग जोडेर विभिन्न ११ वटा मुद्दामा अनुसन्धान भइरहेको भन्ने समाचार केही सञ्चारमाध्यममा प्रकाशित भएपछि उनको पछिल्लो पक्राउको वास्तविक कारणबारे समेत भ्रम सिर्जना भएको देखिन्छ ।

पूर्वप्रदेशसभा सदस्य नेता यादवको राजनीतिक पृष्ठभूमि

रिहा भएका नेता यादव सर्लाहीको कबिलासी नगरपालिका-१०, सलेमपुरका स्थानीय हुन् । उनी मधेस प्रदेशका पूर्वप्रदेशसभा सदस्यसमेत हुन् ।

नेता यादव २०७४ सालमा तत्कालीन मधेसी जनअधिकार फोरमका तर्फबाट सर्लाही निर्वाचन क्षेत्र नम्बर २(ख) बाट मधेस प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । हाल उनी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्यका रूपमा सक्रिय छन् ।

नेता यादवले सर्लाहीमा सार्वजनिक सरोकारका विषय, भ्रष्टाचार, घुसखोरी तथा सेवाप्रवाहमा हुने भनिएको ढिलासुस्ती र अनियमितताविरुद्ध आवाज उठाउँदै आएका छन् । सार्वजनिक कार्यालयमा सेवाग्राहीलाई सहज रूपमा सेवा उपलब्ध गराउनुको सट्टा कर्मचारीबाट हुने गरेको हैकमवादी तथा मनोमानी व्यवहार विरुद्ध उनले सार्वजनिक रूपमा आवाज उठाउँदै आएका छन् ।

सर्वसाधारणको न्यायमा पहुँच तथा सार्वजनिक सेवामा सहज र सम्मानजनक पहुँच स्थापित गर्न नेता यादव सक्रिय रहँदै आएका छन् । उनले आफूलाई जनताको पक्षमा उभिने राजनीतिक नेताका रूपमा प्रस्तुत गर्दै सार्वजनिक सरोकारका विभिन्न विषयमा आवाज उठाउँदै आएका छन् ।

एसपी यादव

लेखकको बारेमा

एसपी यादव

लेखकबाट थप

पत्रकार यादव राजनीतिक, खोज अनुसन्धान र समसामयिक लगायत विषयमा रिपोर्टिङ गर्छन् ।


प्रतिक्रिया!!

सम्बन्धित खबर