राजविराज,०७ असोज । मधेश प्रदेश सरकारको श्रम तथा यातायात मन्त्रालयले अब आफ्नै पहलमा सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) छपाई तथा वितरणको काम सुरु गरेको छ । पहिलो चरणमा विभिन्न यातायात व्यवस्था कार्यालयमार्फत वितरण गरिनेगरी कुल ३ हजार ८१ वटा लाइसेन्स छपाइ सम्पन्न गरी सम्बन्धित कार्यालयहरूलाई हस्तान्तरण गरिएको छ।
कुन कार्यालयमा कति लाइसेन्स वितरण?
नयाँ व्यवस्थाअनुसार प्रदेशका आठवटै यातायात व्यवस्था कार्यालयहरूमा छपाइ भएका लाइसेन्स पठाइएको छ:

वीरगञ्ज कार्यालय: १,१७२ वटा
जनकपुर कार्यालय: ९३२ वटा
लहान कार्यालय: ४६० वटा
बर्दिबास कार्यालय: ३०३ वटा
गौर कार्यालय: ११९ वटा
राजविराज कार्यालय: ५२ वटा
मलंगवा कार्यालय: ३२ वटा
कलैया कार्यालय: ११ वटा
मन्त्रालयमा आयोजित एक विशेष पत्रकार सम्मेलनका बीच श्रम तथा यातायात मन्त्री शारदादेवी थापाले यातायात व्यवस्था कार्यालय जनकपुरका प्रमुख वासुदेव मल्ललाई पहिलो लटको लाइसेन्स हस्तान्तरण गर्दै सेवाग्राहीलाई छिटोभन्दा छिटो वितरण गर्न निर्देशन दिनुभयो।
यसअघि लाइसेन्स पाउनका लागि लामो समय प्रतीक्षा गर्नुपर्ने बाध्यता रहेकोमा, अब प्रदेश सरकारले नै छपाइको व्यवस्था मिलाएकाले सेवाग्राहीले समयमै सहज रूपमा लाइसेन्स प्राप्त गर्न सक्ने विश्वास मन्त्री थापाले व्यक्त गर्नुभएको छ। उक्त पत्रकार सम्मेलनमा मन्त्रालयका निमित्त सचिव रञ्जित यादवको पनि उपस्थिति रहेको थियो।






