राजविराज,५ असोज । हलुवाई समाज नेपाल मधेस प्रदेश समितिको आयोजनामा हलुवाई जातिको हकहित, पहिचान र प्रतिनिधित्वको माग गर्दै जनजागरण अभियान तथा मोटरसाइकल र्‍याली सुरु भएको छ। सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका-१ स्थित कोशी ब्यारेजबाट सोमबार एक समारोहबीच उक्त अभियानको उद्घाटन गरिएको हो।

संस्थापक केन्द्रीय अध्यक्ष शिवनारायण साह (सुरज) र केन्द्रीय अध्यक्ष शत्रुधनप्रसाद साहले संगठन र राष्ट्रिय झण्डाोत्तलन गरी संयुक्त रूपमा र्‍यालीको शुभारम्भ गरेका हुन्। कार्यक्रममा संस्थापक अध्यक्ष साहले हलुवाई बाहेक अन्य केही जातिले दाबी गर्दैमा ती जाति हलुवाई हुन नसक्ने स्पष्ट पार्दै समुदायलाई सचेत रहन आग्रह गरे। साथै, हलुवाई जातिलाई आदिवासी जनजातिमा सूचीकृत गर्नुपर्ने मागमा जोड दिँदै उनले अधिकार र पहिचानका लागि सबैको सहयोग अपरिहार्य रहेको बताए।

तेस्रो केन्द्रीय महाधिवेशन आयोजक समितिका संयोजक जयप्रकाश साह र मधेस प्रदेश अध्यक्ष एवं अभियान संयोजक रामशंकर साहले पनि राज्यको ध्यानाकर्षण गराउन र अधिकार सुनिश्चितताका लागि आन्दोलनको पूर्वसन्ध्यामा यो अभियान थालिएको जानकारी दिए।

कोशी ब्यारेजबाट सुरु भएको मोटरसाइकल र्‍याली भारदह, हनुमाननगर र राजविराज परिक्रमा गर्दै गणिनाथ मन्दिर परिसरमा कोणसभामा परिणत भएको थियो। मधेस प्रदेशका आठै जिल्ला परिक्रमा गर्ने यो अभियान असोज १० गते जनकपुरमा पुगेर समापन हुने मधेस प्रदेशका महासचिव वंशराज साहले बताएका छन्।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर