एसपी यादव/सर्लाही, भदौ ३० गते । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य अशोक यादव पक्राउको विरोधमा सर्लाहीको सदरमुकाम मलंगवामा मंगलबार साँझ मसाल जुलुस निकालिएको छ ।

नेता यादवमाथि कुटपिट, अङ्गभङ्ग तथा आपराधिक उपद्रवसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेका बेला नेकपाका नेता तथा कार्यकर्ताले उनको पक्राउलाई राजनीतिक प्रतिशोधको संज्ञा दिँदै विरोध प्रदर्शन गरेका हुन् ।

जिल्ला समन्वय समितिको तीनबिघे मैदानबाट सुरु भएको मसाल जुलुस नगरपालिका चोकतर्फ अघि बढेको थियो । प्रदर्शनकारीहरू बालमन्दिर चोक पुगेपछि प्रहरीले जुलुसलाई अगाडि बढ्न रोक्दै तितरबितर पारेको थियो । त्यसक्रममा प्रदर्शनकारी र प्रहरीबीच केही समय तनावको अवस्था सिर्जना भएको थियो ।
प्रहरीले जुलुस अघि बढ्न नदिएपछि प्रदर्शनकारीहरूले प्रहरीविरुद्ध नाराबाजी गरेका थिए । सो क्रममा प्रहरीले पाँच जना प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको जनाइएको छ ।

प्रदर्शनकारीहरूले नेता यादवमाथि लगाइएको मुद्दाको निष्पक्ष छानबिन हुनुपर्ने माग गरेका छन् । उनीहरूले नेता यादवको पक्राउ राजनीतिक पूर्वाग्रहबाट प्रेरित भएको दाबी गर्दै तत्काल रिहाइको माग गरेका थिए ।
मसाल जुलुसका क्रममा प्रदर्शनकारीहरूले ‘झुटा मुद्दा खारेज गर’, ‘अशोक यादवलाई रिहा गर’, ‘छानबिन समिति गठन गर’ र ‘राजनीतिक प्रतिशोध बन्द गर’ लगायतका नारा लगाएका थिए ।

नेता यादवमाथि कुटपिट, अङ्गभङ्ग तथा आपराधिक उपद्रवसम्बन्धी एक मात्र मुद्दामा अनुसन्धान भइरहेको सर्लाही प्रहरीले भदौ २४ गते प्रेस विज्ञप्ति जारी गर्दै जनाएको छ । यद्यपि, प्रदर्शनकारीहरूले उक्त अनुसन्धानको निष्पक्षतामाथि प्रश्न उठाउँदै घटनाको स्वतन्त्र छानबिन गर्न माग गरेका छन् ।

घटनाले सर्लाहीमा राजनीतिक विवादसँगै कानुनी अनुसन्धान र प्रहरी कारबाहीको निष्पक्षताबारे समेत प्रश्न खडा गरेको छ । एकातर्फ प्रहरीले नेता यादवमाथिको मुद्दालाई कानुनी प्रक्रियाअन्तर्गतको अनुसन्धानका रूपमा अघि बढाइरहेको छ भने अर्कोतर्फ नेकपाले त्यसलाई राजनीतिक प्रतिशोधको संज्ञा दिँदै सडक आन्दोलन थालेको छ ।

नेता यादव पक्राउ प्रकरणमा आरोपको कानुनी निरूपण अदालतबाट हुनुपर्ने अवस्थामा अनुसन्धान प्रक्रिया कति निष्पक्ष, पारदर्शी र प्रमाणमा आधारित छ भन्ने विषय अहिले मुख्य चासोको विषय बनेको छ । साथै, प्रदर्शन नियन्त्रणका क्रममा पाँच जना पक्राउ गरिएको घटनाले विरोध प्रदर्शनको अधिकार र सार्वजनिक शान्ति-सुरक्षाबीच प्रहरीले अपनाएको सन्तुलनमाथि समेत प्रश्न उठाएको छ ।

प्रदर्शनकारीहरूले नेता यादवको तत्काल रिहाइसँगै घटनाको सत्यतथ्य पत्ता लगाउन निष्पक्ष छानबिन समिति गठन गर्न माग गरेका छन् ।

ललितपुरबाट पक्राउ, सोही दिन सर्लाही पठाइयो

नेता यादवलाई भदौ २३ गते मंगलबार बिहान करिब ९ बजे ललितपुरबाट पक्राउ गरिएको थियो । जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीमा दर्ता रहेको कुटपिट, अङ्गभङ्ग तथा आपराधिक उपद्रवसम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी भएपछि ललितपुर प्रहरीले उनलाई पक्राउ गरी आवश्यक कानुनी कारबाहीका लागि सोही दिन सर्लाही पठाएको थियो ।

यसअघि नेता यादव उनीविरुद्ध दर्ता भएका मुद्दाहरूमा उनी कानुनी प्रक्रिया पूरा गरी सर्लाही जिल्ला अदालतबाट धरौटीमा रिहा भइसकेका छन् । तर, उनीसँग सम्बन्धित पुराना घटनासँग जोडेर विभिन्न ११ वटा मुद्दामा अनुसन्धान भइरहेको भन्ने समाचार केही सञ्चारमाध्यममा प्रकाशित भएपछि उनको पछिल्लो पक्राउको वास्तविक कारणबारे समेत भ्रम सिर्जना भएको देखिन्छ ।

पूर्वप्रदेशसभा सदस्य नेता यादवको राजनीतिक पृष्ठभूमि

पक्राउ परेका नेता यादव सर्लाहीको कबिलासी नगरपालिका-१०, सलेमपुरका स्थानीय हुन् । उनी मधेस प्रदेशका पूर्वप्रदेशसभा सदस्यसमेत हुन् ।

नेता यादव २०७४ सालमा तत्कालीन मधेसी जनअधिकार फोरमका तर्फबाट सर्लाही निर्वाचन क्षेत्र नम्बर २(ख) बाट मधेस प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । हाल उनी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य छन् ।

नेता यादवले सर्लाहीमा सार्वजनिक सरोकारका कार्यालयमा हुने भनिएको भ्रष्टाचार, घुस नदिएसम्म सेवा प्रवाह नगर्ने प्रवृत्ति तथा विभिन्न विकृति-विसङ्गतिविरुद्ध निरन्तर आवाज उठाउँदै आएका छन् । कर्मचारीले आमजनतालाई सहज रूपमा सेवा प्रवाह गर्नुको सट्टा हैकमवादी र मनोमानी प्रवृत्ति देखाउने गरेको भन्दै नेता यादवले त्यस्ता प्रवृत्तिविरुद्ध सार्वजनिक रूपमा समेत आवाज उठाउँदै आएका छन् ।

सर्वसाधारणको न्यायमा पहुँच तथा सार्वजनिक सेवामा सहज र सम्मानजनक पहुँच स्थापित गर्न सक्रिय भूमिका निर्वाह गर्दै आएका नेता यादवले आफूलाई जनताको पक्षमा उभिने नेताका रूपमा प्रस्तुत गर्दै आएका छन् ।

एसपी यादव

लेखकको बारेमा

एसपी यादव

लेखकबाट थप

पत्रकार यादव राजनीतिक, खोज अनुसन्धान र समसामयिक लगायत विषयमा रिपोर्टिङ गर्छन् ।


प्रतिक्रिया!!

सम्बन्धित खबर