सर्लाही, भदौ ५ गते । सर्लाहीको सदरमुकाम मलंगवामा ट्याक्टरको ठक्करबाट सर्लाही क्याम्पसमा अध्ययनरत छात्रा गुरीय कुमारीको असामयिक निधन भएपछि क्याम्पस परिवारले शोक सन्देश जारी गर्दै गहिरो दुःख व्यक्त गरेको छ ।
शुक्रबार बिहान नगरपालिका चोकबाट राजश्री चोकतर्फ जाँदै गरेको ज १ त ५२४६ नम्बरको ट्याक्टरले सोही दिशातर्फ पैदल हिँडिरहेकी गुरीयालाई ठक्कर दिएको थियो । ट्याक्टरको ठक्करबाट टाउकोमा गम्भीर चोट लागेकी उनलाई तत्काल उद्धार गरी प्रादेशिक अस्पताल मलंगवा लगिएको थियो । उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

गोडैता नगरपालिका-५ निवासी सत्यनारायण प्रसाद गुप्ताकी २३ वर्षीया छोरी गुरीय कुमारी सर्लाही क्याम्पसमा बीबीएस तेस्रो वर्षमा अध्ययनरत थिइन् ।
क्याम्पसले जारी गरेको शोक सन्देशमा उनलाई अनुशासित एवं जेहेन्दार विद्यार्थीका रूपमा उल्लेख गर्दै उनको असामयिक निधनले सम्पूर्ण क्याम्पस परिवार स्तब्ध र मर्माहत भएको जनाएको छ ।
क्याम्पस प्रमुख राजेश कुमार यादवद्वारा जारी शोक सन्देशमा मृतात्माको चिरशान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको छ । साथै, शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दै यस कठिन घडीमा धैर्यधारण गर्ने शक्ति मिलोस् भनी भगवानसँग प्रार्थना गरिएको छ ।

घटनापछि सर्लाही क्याम्पस मलंगवाका सञ्चालक, प्राध्यापक, कर्मचारी तथा विद्यार्थीहरू शोकमा डुबेका छन् । उच्च शिक्षा हासिल गर्दै भविष्य निर्माणको यात्रामा रहेकी एक होनहार छात्राको सडक दुर्घटनामा भएको असामयिक निधनले परिवारसँगै सिंगो शैक्षिक समुदायलाई स्तब्ध बनाएको छ ।
दुर्घटनामा संलग्न ट्याक्टर र चालक गोडैता नगरपालिका-११ निवासी १७ वर्षीय अजय साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । चालकसँग आवश्यक कागजपत्रसमेत नभएको र घटनाबारे थप अनुसन्धान भइरहेको सर्लाही प्रहरीले जनाएको छ ।






