एसपी यादव/सर्लाही, भदौ ३ गते । सर्लाही प्रहरीले ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषध गाँजा बरामद गरेको छ । जिल्लाको कौडेना गाउँपालिका-१ लक्ष्मीपुरस्थित एक घरबाट प्रहरीले १५ वटा बोरामा राखिएको अन्दाजी ३०० किलो गाँजा बरामद गरेको हो ।
सर्लाही प्रहरीका प्रवक्ता एवं डीएसपी वेदप्रसाद गौतमका अनुसार, विशेष सूचनाका आधारमा मंगलबार राति करिब १०ः१५ बजेको समयमा प्रहरी टोलीले स्थानीय बिजन पटेलको टाली र बाँसले बनेको भुस राख्ने घरमा खानतलासी गरेको थियो । खानतलासीका क्रममा घरभित्र लुकाएर राखिएको अवस्थामा १५ वटा बोरामा रहेको अन्दाजी ३०० किलो गाँजा फेला परेको हो ।

प्रहरी टोली घरमा पुग्नुअघि नै घरधनी बिजन पटेल फरार भएको प्रहरीले जनाएको छ । फरार पटेलको खोजी कार्य जारी रहेको छ । भने घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी गौतमले जानकारी दिए ।
सर्लाही प्रहरीले पछिल्लो समय जिल्लाका विभिन्न स्थानमा लुकाइछिपाइ राखिएका गाँजा तथा अन्य प्रतिबन्धित लागुऔषधविरुद्ध निगरानी र कारबाही तीव्र बनाउँदै आएको छ । यस क्रममा जिल्लाका विभिन्न स्थानबाट ठूलो परिमाणमा लागुऔषध बरामद हुनुका साथै संलग्न व्यक्तिहरू पक्राउ पर्दै आएका छन् ।






