एसपी यादव/सर्लाही, साउन ३१ गते । सर्लाहीमा लागूऔषध कारोबार तथा सेवनविरुद्ध प्रहरीले चलाएको विशेष अभियानका क्रममा ठूलो परिमाणमा लागूऔषध र प्रतिबन्धित औषधिजन्य ट्याब्लेट तथा क्याप्सुल बरामद भएको छ । प्रहरीले हरिवन नगरपालिका-३ डाबरी गाउँबाट लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीका अनुसार, डाबरी गाउँमा लागूऔषधको कारोबार भइरहेको गोप्य सूचनाका आधारमा आइतबार बिहान ७ बजेदेखि ९ः३० बजेसम्म सर्लाही प्रहरीका प्रवक्ता एवं डीएसपी वेदप्रसाद गौतमको कमान्डमा ९४ जनाको प्रहरी टोली परिचालन गरी लक्षित ‘सर्च अपरेसन’ सञ्चालन गरिएको थियो ।

अपरेसनका क्रममा प्रहरीले हरिवन नगरपालिका-३ स्थित रत्न कुमारी योञ्जनको घरबाट विभिन्न नामका १३१ पिस प्रतिबन्धित औषधिजन्य ट्याब्लेट तथा क्याप्सुल बरामद गरेको जनाएको छ । प्रहरीका अनुसार, उक्त घरबाट आदिश्र लेखिएको ट्याब्लेट ८ पिस, एस्पाम-१० का ६४ पिस, आई-पीएम-१० का ४४ पिस, निट्राजेपाम-१० का ५ पिस तथा इन्टिग्रेटेड लाइफ साइन्सेस लेखिएको ट्याब्लेट १० पिस बरामद भएको हो ।
त्यसैगरी, हरिवन नगरपालिका-३ मै नविन मोक्तानको घरपछाडि रहेको आँप बगैँचामा लुकाइछिपाइ राखिएको अवस्थामा १ किलो २१३ ग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ । सोही स्थानबाट स्पास्मो प्रोक्सिभोन प्लस लेखिएको ८९ क्याप्सुल र एस्पाम-१० लेखिएको ५० ट्याब्लेट समेत बरामद भएको छ ।
लागूऔषधसहित पक्राउ पर्नेमा हरिवन नगरपालिका-३ डाबरी बस्ने ४५ वर्षीया रत्ना कुमारी घिसिङ रहेकी छन् । उनलाई लागूऔषधसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
त्यस्तै, हरिवन नगरपालिका-३ भोकटेनी टोल बस्ने २५ वर्षीय मनोज साहलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार साह लागूऔषध कारोबारमा संलग्न रहेको आशंकामा नियन्त्रणमा लिइएको हो ।
जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीले लागूऔषध कारोबार तथा सेवनविरुद्धको अभियानलाई निरन्तरता दिइरहेको छ । यसअघि पनि सोही क्षेत्रमा खोजी अभियान सञ्चालन गरी तीन जना मानिसलाई नियन्त्रणमा लिनुका साथै उल्लेख्य परिमाणमा लागूऔषध बरामद गरिएको थियो ।
पछिल्लो अपरेसनबाट बरामद लागूऔषध तथा प्रतिबन्धित औषधिजन्य पदार्थ र पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धान भइरहेको सर्लाही प्रहरीका प्रवक्ता एवं डीएसपी वेदप्रसाद गौतमले जानकारी दिए ।






