एसपी यादव/सर्लाही, साउन २८ गते । सर्लाहीको सदरमुकाम मलंगवास्थित श्रीमती कृष्णादेवी जनता माध्यमिक विद्यालयमा लामो समयदेखि अनुपस्थित रहेकी शिक्षिकालाई हाजिर देखाएर सरकारी रकमबाट तलब निकासा गरेको आरोपमा तत्कालीन प्रधानाध्यापकसहित दुई जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
विद्यालयका तत्कालीन प्रधानाध्यापक बिन्देश्वर यादव र तत्कालीन प्राथमिक द्वितीय श्रेणीकी शिक्षिका प्रियंका कुमारी सिंहले आपसी मिलेमतोमा शिक्षिका सिंह विद्यालयमा उपस्थित नभए पनि उनको हाजिरी तथा बिदासम्बन्धी अभिलेख अद्यावधिक नगरी तलब निकासा गराएका थिए ।

आयोगको अनुसन्धानबाट शिक्षिका सिंह २०७९ सालको वैशाखदेखि कात्तिक १८ गतेसम्म विद्यालयमा अनुपस्थित रहेको खुलेको छ । लामो समयसम्म विद्यालयमा अनुपस्थित रहेकी उनलाई आवश्यक प्रक्रिया पूरा गरी कारबाही गर्नुको सट्टा प्रधानाध्यापक यादवले हाजिरी रजिस्टर खाली राखी पछि एकमुष्ट हाजिर गराएको र सोही आधारमा तलब निकासाका लागि सिफारिस गरेको आयोगको आरोप छ ।
आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार, प्रधानाध्यापक यादवले मलंगवा नगरपालिकामा शिक्षिकाको छुट तलब निकासाका लागि सिफारिस गरेपछि रु. २ लाख ४० हजार ९१४ रुपैयाँ ४० पैसा र रु. १ लाख ३० हजार १२१ रुपैयाँ ७० पैसा गरी कुल रु. ३ लाख ७१ हजार ३६ रुपैयाँ १० पैसा सरकारी रकम निकासा भएको थियो ।
विद्यालयमा अनुपस्थित रहेको अवधिको समेत तलब भुक्तानी गराई सरकारी रकम हिनामिना तथा दुरुपयोग गरेको देखिएपछि आयोगले उक्त कार्यलाई भ्रष्टाचारजन्य कसुर ठहर गर्दै विद्यालयका तत्कालीन प्रधानाध्यापक बिन्देश्वर यादव र तत्कालीन प्राथमिक द्वितीय श्रेणीकी शिक्षिका प्रियंका कुमारी सिंह दुवै जनालाई प्रतिवादी बनाएको हो ।
आयोगले दुवै प्रतिवादीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम बिगो असुलउपर गरी कैद तथा जरिवानाको सजाय मागदाबी गरेको छ । साथै, सोही ऐनको दफा ११ बमोजिमसमेत थप सजाय हुनुपर्ने मागदाबी गर्दै बुधबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।
सार्वजनिक पद र जिम्मेवारीको दुरुपयोग गरी सरकारी रकममा नोक्सानी पुर्याउने तथा कानुनविपरीत सार्वजनिक रकम भुक्तानी गर्ने कार्यविरुद्ध आयोगले अनुसन्धानलाई निरन्तरता दिँदै दोषी देखिएका व्यक्तिमाथि कानुनी कारबाही अघि बढाउँदै आएको जनाएको छ ।






