एसपी यादव/सर्लाही, साउन २७ गते । भारतबाट सर्लाहीतर्फ आउँदै गरेको स्कुटरबाट स्रोत नखुलेको ठूलो परिमाणको नेपाली रुपैयाँसहित एकजना पक्राउ परेका छन् ।
सर्लाही प्रहरीका प्रवक्ता एवं डीएसपी वेदप्रसाद गौतमका अनुसार, भारतबाट वयलबासतर्फ ज.१० प ८६५२ नम्बरको स्कुटरमा हुन्डी कारोबारको रकम ल्याउँदै गरेको सूचनाका आधारमा ब्रह्मपुरी गाउँपालिका-२ स्थित राजदेवी मन्दिर अगाडिबाट उक्त स्कुटर बुधबार नियन्त्रणमा लिइएको हो ।


जिल्ला प्रहरी कार्यालय मलंगवाबाट खटिएको प्रहरी टोलीले स्कुटर रोकी जाँच गर्ने क्रममा चालकले बोकेको कालो झोलाभित्र लुकाइछिपाइ राखेको स्रोत नखुलेको नेपाली रुपैयाँ ५१ लाख ३४ हजार फेला पारेको तथा बरामद रकम विभिन्न दरका नेपाली नोट रहेको डीएसपी गौतमले बताए ।
त्यसैगरी, रेडमी कम्पनीको एउटा मोबाइल फोनसमेत बरामद गरिएको छ ।
अवैध रकमसहित पक्राउ पर्नेमा महोत्तरी जिल्लाको गौशाला नगरपालिका-१२ बस्ने ५७ वर्षीय जगन्नाथ महतो कोइरी रहेका छन् । उनलाई रकम, स्कुटर र मोबाइलसहित नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको डीएसपी गौतमले बताए ।
सीमा क्षेत्र हुँदै ठूलो परिमाणमा स्रोत नखुलेको रकम भित्रिएको घटनालाई सर्लाही प्रहरीले वित्तीय अपराध तथा अवैध हुन्डी कारोबारको कोणबाट समेत अनुसन्धान अघि बढाएको जनाएको छ ।







