एसपी यादव/सर्लाही, साउन २६ गते । सर्लाही प्रहरीले १२ किलो ८२४ ग्राम लागूऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ ।
सर्लाही प्रहरीका प्रवक्ता एवं डीएसपी वेदप्रसाद गौतमका अनुसार, लालबन्दी नगरपालिका-१२ जियाजोरस्थित नियमित चेकजाँच गर्ने क्रममा शंकास्पद अवस्थामा रहेका तीन जनालाई मंगलबार नियन्त्रणमा लिइएको हो । चेकजाँचका क्रममा उनीहरूले बोकेको जेब्रा झोलाभित्र लुकाइछिपाई ल्याइएको तीन पोका गाँजा अन्दाजी १२ किलो ८२४ ग्राम फेला परेको उनले जनाएको छ ।

पक्राउ पर्नेमा हरिवन नगरपालिका-२ निवासी ४८ वर्षीय सानु न्याउके दमाई र उनकी ३५ वर्षीया श्रीमती सविना परियार र लालबन्दी नगरपालिका-१४ निवासी ५६ वर्षीया ज्ञानमाया रहेका छन् ।
प्रहरीले गाँजासहित पक्राउ परेका तीनै जनालाई लागूऔषधसम्बन्धी कसुरमा सर्लाही जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको छ ।
सर्लाही प्रहरीले जिल्लामा लागूऔषधको ओसारपसार तथा कारोबार नियन्त्रणका लागि निगरानी र चेकजाँचलाई थप कडाइ गरिएको डिएसपी गौतमले जनाएको छ ।






