एसपी यादव/सर्लाही, साउन २५ गते । सर्लाही प्रहरीले डीजे साउण्ड सिस्टमसहितको सवारी र दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।

नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय, जिल्ला प्रशासन कार्यालय मलंगवा सर्लाही तथा सरोकारवाला निकायबीच भएको बैठकको सहमति एवं जिल्ला सुरक्षा समिति सर्लाहीको निर्णयविपरीत मानव स्वास्थ्यमा प्रतिकूल असर पार्ने तथा ध्वनि प्रदूषण गराउने डीजे बाजा प्रहरीले नियन्त्रणमा लिएको हो ।

सर्लाही प्रहरीका प्रवक्ता एवं डीएसपी वेदप्रसाद गौतमका अनुसार, आइतबार मलंगवा नगरपालिका-९ गोरखकाली क्षेत्रबाट डीजेसहितको गाडी र दुई जना व्यक्तिलाई नियन्त्रणमा लिइएको हो । नियन्त्रणमा लिइएका व्यक्तिमाथि थप अनुसन्धान भइरहेको उनले जनाएको छ ।

डीजे सञ्चालक हरिपुर नगरपालिका-१ बस्ने ५५ वर्षीय जगेश्वर पण्डित र डीजे भएको गाडी चालक बागमती नगरपालिका-४ बस्ने २३ वर्षीय जगन्नाथ साहलाई सर्लाही प्रहरीले नियन्त्रणमा लिएको हो । साथै डीजे जडित विभिन्न साउण्ड सिस्टमका उपकरणसहित बा.१९ च ४२९१ नम्बरको पिकअप गाडी समेत नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

डीजे नबजाउन प्रहरीको कडा चेतावनी
जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीले मानव स्वास्थ्यमा प्रतिकूल असर पार्ने तथा ध्वनि प्रदूषण गर्ने किसिमका डीजे नबजाउन सम्बन्धित सबैमा अनुरोध गरेको छ । प्रहरीले अटेर गरी डीजे सञ्चालन गरेमा कानुनबमोजिम कारबाही हुने स्पष्ट चेतावनी समेत दिएको छ । पछिल्लो समय विवाह, धार्मिक तथा सामाजिक कार्यक्रममा अत्यधिक आवाजमा डीजे बजाउने प्रवृत्ति बढ्दै गएको अवस्थामा प्रहरीले ध्वनि प्रदूषण नियन्त्रणलाई प्राथमिकतामा राखेको हो ।

मानव स्वास्थ्य तथा वातावरणमा प्रतिकूल असर पार्ने गरी डीजे सञ्चालन नगर्न आग्रह गर्दै नियम उल्लङ्घन गर्ने जो-कोहीमाथि कानुनअनुसार कारबाही गरिने डिएसपी गौतमले बताएका छन् ।

सर्लाही प्रहरीको पछिल्लो कारबाहीलाई ध्वनि प्रदूषण नियन्त्रण तथा सार्वजनिक शान्ति-सुरक्षा कायम गर्ने अभियानका रूपमा हेरिएको छ ।

एसपी यादव

लेखकको बारेमा

एसपी यादव

लेखकबाट थप

पत्रकार यादव राजनीतिक, खोज अनुसन्धान र समसामयिक लगायत विषयमा रिपोर्टिङ गर्छन् ।


प्रतिक्रिया!!

सम्बन्धित खबर