एसपी यादव/सर्लाही, साउन २५ गते । सर्लाहीको बरहथवा नगरपालिका-९ मुर्तियामा किराले टोकेपछि बिरामी परेका एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ ।
मृत्यु हुनेमा बरहथवा नगरपालिका-९ मुर्तिया निवासी रामचतुर महतोका करिब ३५ वर्षीय छोरा रामपृत महतो रहेका छन् ।

सर्लाही प्रहरीका प्रवक्ता एवं डीएसपी वेदप्रसाद गौतमका अनुसार, आइतबार दिउँसो आफ्नै घरमा रहेका बेला नाम नखुलेको किराले महतोको दाहिने खुट्टामा टोकेको थियो । किराले टोकेपछि बिरामी भएका उनलाई उपचारका लागि वीरगञ्जस्थित नारायणी अस्पताल लगिएको थियो ।
अस्पतालमा उपचारका क्रममा चिकित्सकले महतोलाई मृत घोषणा गरेको डीएसपी गौतमले जानकारी दिए ।
अस्पताल प्रशासनबाट घटनाबारे जानकारी प्राप्त भएपछि प्रहरी घटना स्थलमा पुगेर घटनाबारे विस्तृत रूपमा बुझ्नुका साथै आवश्यक अनुसन्धान अघि बढाएको छ ।
किराले टोकेकै कारण महतोको मृत्यु भएको हो वा अन्य कुनै कारणले मृत्यु भएको हो भन्ने विषयमा थप अनुसन्धान तथा चिकित्सकीय परीक्षणपछि मात्र यकिन हुने डीएसपी गौतमले बताए ।






