एसपी यादव/सर्लाही, साउन २४ गते । बजारमा खाना पकाउने एलपी ग्यासको कृत्रिम अभाव सिर्जना गरी कालाबजारी तथा उपभोक्ता ठगी भइरहेको गुनासो बढिरहेका बेला जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीले सदरमुकाम मलंगवामा रहेका ग्यास डिलर तथा बिक्री केन्द्रहरूको अनुगमन गरेको छ ।
(अनुगमनका क्रममा सुपर ग्यास प्रा.लि., मलंगवा नगरपालिका-८ का सञ्चालक सुनिलकुमार यादवसँग जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीका प्रहरी निरीक्षक जीवन श्रेष्ठले ग्यासको मौज्दात, बिक्री-वितरण तथा आपूर्तिसम्बन्धी आवश्यक सोधपुछ गर्दै ।)

जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीका प्रहरी निरीक्षक जीवन श्रेष्ठको नेतृत्वमा आइतबार सदरमुकाम मलंगवामा रहेका सहारा, सुपर, अम्बर, नेविल र जगदम्बा ग्यासका डिलर तथा बिक्री केन्द्रका पसल एवं गोदाममा अनुगमन गरिएको हो ।

अनुगमनका क्रममा ग्यासको मौज्दात, बिक्री-वितरणको अवस्था, उपभोक्तालाई ग्यास उपलब्ध गराउने प्रक्रिया तथा बजारमा ग्यासको वास्तविक आपूर्तिलगायतका विषयमा निरीक्षण गरिएको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिए ।
प्रहरी निरीक्षक श्रेष्ठले, अत्यावश्यक वस्तु ग्यासमा कृत्रिम अभाव सिर्जना गर्ने, कालाबजारी गर्ने वा उपभोक्तालाई ठगी गर्ने कार्य कुनै पनि हालतमा स्वीकार्य नहुने स्पष्ट पारेका छन् । उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउनु व्यवसायीको दायित्व भएको उल्लेख गर्दै उनले बजारमा अनियमितता भेटिएमा प्रचलित कानुनबमोजिम आवश्यक कारबाही गरिने चेतावनी उनले दिएका छन् ।

मलंगवाका स्थानीय तथा सेवाग्राहीहरूले प्रहरीले थालेको अनुगमनलाई सकारात्मक रूपमा लिएका छन्। ग्यासको कालाबजारी र कृत्रिम अभावका कारण उपभोक्ताले समस्या भोगिरहेको अवस्थामा नियमित तथा प्रभावकारी अनुगमनले सेवाग्राहीलाई राहत पुग्ने उनीहरूको विश्वास छ ।
पछिल्लो समय बजारमा ग्यासको अभाव देखाउँदै बढी मूल्य असुल्ने, कृत्रिम अभाव सिर्जना गर्ने तथा उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध नगराउने गुनासो बढेपछि प्रहरीले डिलर तथा गोदामहरूको अनुगमनलाई तीव्रता दिएको हो ।

जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीले अत्यावश्यक वस्तुको आपूर्ति तथा बिक्री-वितरणमा हुने अनियमितताविरुद्ध निगरानीलाई निरन्तरता दिने जनाएको छ । प्रहरी निरीक्षक श्रेष्ठले बजारमा उपभोक्ता हितविपरीतका गतिविधि हुन नदिन प्रहरीको निगरानी तथा आवश्यक कारबाही निरन्तर रहने बताए ।






