एसपी यादव/सर्लाही, साउन १७ गते । मधेस प्रदेशसहित देशका विभिन्न स्थानमा पछिल्ला दिनहरूमा देखिएको संवेदनशील परिस्थितिबीच सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकताको सन्देश प्रवाह गर्न सर्लाही सदरमुकाम मलंगवामा आइतबार धार्मिक तथा साम्प्रदायिक सद्भाव र्याली निकालिएको छ ।
“धार्मिक, जातीय तथा सामाजिक एकताका लागि सद्भाव र्याली” भन्ने मूल नारासहित मलंगवा नगरपालिकाको नेतृत्वमा आयोजित र्यालीमा हिन्दु र मुस्लिम समुदायका धर्मगुरु, अगुवा तथा सर्वसाधारण नागरिक एकैसाथ सहभागी हुँदै आपसी भाइचारा, सहअस्तित्व र सामाजिक एकताको सशक्त सन्देश दिएका थिए ।

र्यालीमा सहभागीहरूले समाजमा शान्ति, सद्भाव र पारस्परिक सम्मान कायम राख्न सबै समुदायले संयमता अपनाउनुपर्नेमा जोड दिएका थिए । पछिल्ला घटनाक्रमलाई लिएर कुनै पनि प्रकारका अफवाह, उत्तेजनात्मक अभिव्यक्ति तथा सामाजिक सद्भाव बिथोल्ने गतिविधिबाट टाढा रहन उनीहरूले सबैमा आग्रह गरेका थिए ।
कार्यक्रममा संघीय तथा प्रदेश सांसद, विभिन्न राजनीतिक दलका प्रतिनिधि, नगर प्रमुख तथा उपप्रमुख, वडा अध्यक्षहरू, नागरिक समाजका अगुवा, सामाजिक अभियन्ता तथा विभिन्न धार्मिक समुदायका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
त्यसैगरी, सर्लाहीका प्रमुख जिल्ला अधिकारी विजयराज सुबेदी, जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख एसपी रविन्द्रनाथ पौडेल लगायत सुरक्षा निकायका अधिकारीहरूको पनि सहभागिता रहेको थियो । उनीहरूले सामाजिक सद्भाव, शान्ति सुरक्षा र कानुनी शासनलाई सुदृढ बनाउन सबै पक्ष जिम्मेवार र संयमित हुनुपर्नेमा जोड दिएका थिए ।
यसैबीच, जिल्लाका हरिवन, लालबन्दी र ईश्वरपुर नगरपालिकाले पनि धार्मिक तथा साम्प्रदायिक सद्भावका पक्षमा छुट्टाछुट्टै सद्भाव र्यालीको आयोजना गरिसकेका छन् ।
आयोजकहरूले समुदायबीच विश्वास, सहकार्य र सहअस्तित्वलाई अझ सुदृढ बनाउँदै मधेससहित देशभर शान्ति, एकता र सद्भावको सकारात्मक सन्देश फैलाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताएका छन् ।
देशका विभिन्न स्थानमा भएका पछिल्ला घटनापछि समाजमा एकता र सद्भाव कायम राख्ने सन्देशसहित सर्लाहीका स्थानीय तहहरूले सञ्चालन गरेको यो अभियानलाई सामाजिक सौहार्द प्रवर्द्धन गर्ने महत्वपूर्ण पहलका रूपमा हेरिएको छ ।






