राजविराज (सप्तरी) — जिल्लामा आन्दोलन तथा हुलदङ्गा भई शान्ति सुरक्षा भङ्ग हुनसक्ने उच्च जोखिमलाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालय सप्तरीले राजविराज नगरपालिका क्षेत्रभित्र अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ।
जिल्ला सुरक्षा समितिको निर्णयअनुसार स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम साउन १५ गते शुक्रबार बिहान ८:०० बजेदेखि अर्को आदेश नभएसम्मका लागि कर्फ्यु लागू गरिएको हो।

प्रशासनले राजविराज नगरपालिकाभित्र कर्फ्यु लागू हुने चार किल्ला घेरासमेत तोकेको छ।
कर्फ्यु प्रभावित क्षेत्र (चार किल्ला):
पूर्व: खाँडो खोलासम्म
पश्चिम: हुलाकी राजमार्गको जमुनी थलहीसम्म
उत्तर: रुपनी रोडको बसविट्टी चोकसम्म
दक्षिण: कोशी पश्चिम मुल नहरसम्म (विष्णुपुर गाउँपालिका)
सप्तरीका प्रमुख जिल्ला अधिकारी श्याम कृष्ण थापाद्वारा जारी आदेशमा कर्फ्युको बर्खिलाप हुने गरी कुनै पनि गतिविधि गरे, गराएको पाइएमा प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने चेतावनी दिइएको छ। स्थानीय प्रशासनले सर्वसाधारणलाई आदेशको पूर्ण पालना गरी शान्ति सुरक्षा कायम राख्न सहयोग गर्न आग्रह गरेको छ।







