राजविराज, १४ साउन । सप्तरीको बोदेबरसाइन नगरपालिका क्षेत्रमा जिल्ला प्रशासन कार्यालय सप्तरीले गए रातिदेखि अनिश्चितकालीन निषेधाज्ञा (कर्फ्यु) जारी गरेको छ।
प्रमुख जिल्ला अधिकारी श्याम कृष्ण थापाद्वारा जारी गरिएको आदेशानुसार, जिल्ला सुरक्षा समितिको बैठकको निर्णय बमोजिम शान्ति सुव्यवस्था कायम राख्नका लागि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ ‘क’ बमोजिम निषेधाज्ञा जारी गरिएको हो।
निषेधाज्ञा जारी गरिएका क्षेत्र र समय:
निषेधाज्ञा मिति २०८३/०४/१४ गते राति १० बजेदेखि अर्को आदेश नभएसम्मका लागि लागू रहनेछ।
कर्फ्यु लगाइएको क्षेत्रको सिमाना देहाय बमोजिम तोकिएको छ:
पूर्व: हुलाकी राजमार्गको खडक पुल
पश्चिम: प्रितमपुर चोक
उत्तर: नेँगडा चोक
दक्षिण: मानराजा चोक
जिल्ला प्रशासन कार्यालयले यस आदेशको उल्लंघन गर्ने वा उल्लंघन गर्न उक्साउने जो कोहीलाई पनि प्रचलित कानून बमोजिम कडा कारबाही गरिने चेतावनी दिएको छ। प्रशासनले यो सूचनालाई नै आधिकारिक जानकारी मान्न सबैमा अनुरोध गरेको छ।







