एसपी यादव/सर्लाही, साउन १४ गते । जिल्ला प्रशासन कार्यालय सर्लाही मलंगवाले पछिल्लो समय विकसित संवेदनशील परिस्थितिलाई मध्यनजर गर्दै जिल्लामा शान्ति, सुरक्षा, सामाजिक सद्भाव तथा धार्मिक सहअस्तित्व कायम राख्न सम्पूर्ण जिल्लावासीलाई उच्च संयमता अपनाउन हार्दिक अपिल गरेको छ ।

बिहीबार सार्वजनिक अपिल जारी गर्दै जिल्ला प्रशासन कार्यालय सर्लाहीले पछिल्लो समय देशका विभिन्न स्थानमा देखिएका अनपेक्षित, असहज तथा संवेदनशील घटनाक्रमलाई मध्यनजर गर्दै जिल्लामा शान्ति, सुरक्षा, धार्मिक सहिष्णुता, सामाजिक सद्भाव तथा सामाजिक सहअस्तित्वलाई अक्षुण्ण राख्न सम्पूर्ण जिल्लावासीसँग उच्च संयमता अपनाउन हार्दिक अपिल गरेको छ । साथै जातीय, धार्मिक वा सामाजिक सद्भावमा खलल पुर्‍याउने किसिमका भ्रामक, अपुष्ट तथा द्वेषपूर्ण सामग्री, भिडियो वा सूचनाहरू सामाजिक सञ्जालमार्फत सम्प्रेषण तथा शेयर नगर्न सबैमा अनुरोध समेत गरेको छ ।

प्रशासनले यस्ता भ्रामक सामग्री प्रसारण वा शेयर गर्ने जो-कोहीलाई साइबर अपराध सम्बन्धी प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने स्पष्ट चेतावनी दिएको छ । साथै कुनै पनि विषयमा असमझदारी वा विवाद उत्पन्न भए संवाद, छलफल र वार्ताको माध्यमबाट समाधान खोज्न आग्रह गरेको छ ।

जिल्लामा शान्ति सुव्यवस्था र कानुनी शासन कायम राख्न स्थानीय प्रशासन तथा सुरक्षा निकायलाई पूर्ण सहयोग गर्न तथा कुनै पनि शंकास्पद वा अवाञ्छित गतिविधि देखिए तत्काल सम्बन्धित निकायलाई जानकारी गराई आवश्यक सहयोग गर्न प्रशासनले सबै नागरिकसँग अनुरोध गरेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी होम प्रसाद घिमिरेद्वारा हस्ताक्षरित सार्वजनिक अपिलमा सामाजिक सद्भाव, भाइचारा र सांस्कृतिक ऐक्यबद्धता नेपालको साझा पहिचान रहेको उल्लेख गर्दै सबै नागरिकलाई जिम्मेवार, संयमित र सचेत व्यवहार गर्न आग्रह गरिएको छ ।

प्रशासनले आफ्नो अपिलमा “हाम्रो साझा प्रयास, उच्च संयमता र परिपक्वताले नै आपसी भाइचारा, सांस्कृतिक ऐक्यबद्धता, दिगो शान्ति र सामाजिक सद्भाव कायम रहिरहनेछ।” भन्ने सन्देश दिँदै शान्ति, सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न सबैको साथ र सहयोग आवश्यक रहेको जनाएको छ ।

एसपी यादव

लेखकको बारेमा

एसपी यादव

लेखकबाट थप

पत्रकार यादव राजनीतिक, खोज अनुसन्धान र समसामयिक लगायत विषयमा रिपोर्टिङ गर्छन् ।


प्रतिक्रिया!!

सम्बन्धित खबर