एसपी यादव/सर्लाही, साउन १४ गते । सार्वजनिक शान्ति, सुरक्षा तथा सामाजिक सद्भावमा प्रतिकूल असर पर्ने प्रकृतिका भ्रामक सूचना तथा भिडियो सामाजिक सञ्जालमार्फत प्रसारण गर्ने व्यक्तिमाथि जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीले कडा कानुनी कारबाही प्रक्रिया अघि बढाएको छ ।
जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै फेसबुक प्रोफाइल “मुकेश कुमार यादव समर्थक” बाट भ्रामक तथा झुटा सूचना, समाचार र भिडियो प्रकाशन तथा प्रसारण भएको विषयमा अनुसन्धान गरी सम्बन्धित व्यक्तिलाई नियन्त्रणमा लिइएको जनाएको हो ।

सर्लाही प्रहरीका प्रवक्ता एवं डीएसपी वेदप्रसाद गौतमका अनुसार, उक्त फेसबुक आईडी सञ्चालन गर्ने व्यक्ति सर्लाहीको धनकौल गाउँपालिका-२ निवासी ३० वर्षीय राम प्रवेश राय यादव रहेको खुलेपछि उनलाई खोजतलास गरी प्रयोगमा रहेको मोबाइल फोनसमेत फेला पारेर नियन्त्रणमा लिइएको हो ।
प्रारम्भिक सोधपुछका क्रममा उनले उक्त भ्रामक भिडियो आफ्नै फेसबुक आईडीबाट प्रसारण गरेको स्वीकार गरेको प्रहरीको दाबी छ ।
सामाजिक सञ्जालको दुरुपयोग गर्दै भ्रामक तथा झुटा सूचना, समाचार प्रकाशन र प्रसारण गरी सर्वसाधारणमा भ्रम सिर्जना गर्ने तथा सार्वजनिक शान्ति, सुरक्षा र सुव्यवस्थामा प्रतिकूल असर पार्ने कार्य गरेको देखिएकाले उनीमाथि विद्युतीय कारोबार सम्बन्धी कसुर अन्तर्गत पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको डिएसपी गौतमले बताएको छ ।
डिएसपी गौतमले सामाजिक सञ्जालमा अपुष्ट, भ्रामक वा उत्तेजना फैलाउने सामग्री प्रकाशन तथा प्रसारण नगर्न सबैलाई आग्रह गर्दै यस्ता गतिविधिमा संलग्न जो-कोहीलाई पनि कानुनबमोजिम कारबाही गरिने चेतावनी दिएका छन् ।
सर्लाही प्रहरीले सत्यतथ्य पुष्टि नभएका सूचना सामाजिक सञ्जालमा साझा गर्दा कानुनी जिम्मेवारीसमेत वहन गर्नुपर्ने भएकाले जिम्मेवार र संयमित भएर मात्रै सूचना सम्प्रेषण गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ ।






