काठमाडौँ । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि भएका कुटपिट एवम् दुर्व्यवहारका घटनापछि सिर्जित विवाद समाधानका लागि सरकार र नेपाल चिकित्सक संघबीच पाँचबुँदे सहमति भएको छ। बुधबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, गृह मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रतिनिधि र चिकित्सक संघका पदाधिकारीहरूबीच भएको वार्तापछि उक्त सहमति पत्रमा हस्ताक्षर भएको हो।

सहमतिअनुसार स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६ लाई थप प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरकार प्रतिबद्ध भएको छ। ऐनमा रहेका कानुनी व्यवस्थालाई पूर्ण रूपमा लागू गर्न आवश्यक निर्देशिका शीघ्र तयार पार्ने, स्वास्थ्य संस्थामा हुने तोडफोड र स्वास्थ्यकर्मीमाथि हुने आक्रमणमा संलग्नलाई कडा कानुनी कारबाहीको दायरामा ल्याउने तथा अन्तर-मन्त्रालय समन्वयलाई चुस्त बनाउने निर्णय भएको छ।

यसैगरी, स्वास्थ्य संस्थाहरूको सुरक्षा व्यवस्था सुदृढ बनाउन कार्ययोजना तयार पार्न नेपाल चिकित्सक संघको सहकार्यमा एक कार्यदल गठन गरिने भएको छ। सो कार्यदलले गर्ने कार्यप्रगतिको नियमित रूपमा समीक्षासमेत गरिनेछ। सहमति कायम भएसँगै नेपाल चिकित्सक संघले आफ्ना सम्पूर्ण आन्दोलनका कार्यक्रम तत्कालका लागि स्थगित गर्दै नियमित स्वास्थ्य सेवा सञ्चालन गर्ने जनाएको छ।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर