राजविराज,१३ साउन । उपराष्ट्रपति रामसहायप्रसाद यादवले सुनसरीमा हालै घटेका अप्रिय घटनाक्रमप्रति गम्भीर चिन्ता व्यक्त गर्दै देशमा शान्ति, सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न सबै पक्षसँग अपिल गरेका छन्। आज एक सन्देश जारी गर्दै उनले घटनामा ज्यान गुमाएका नागरिकप्रति गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका हुन्।
आफ्नो सन्देशमा उपराष्ट्रपति यादवले झडपका क्रममा घाइते भएका सर्वसाधारण तथा सुरक्षाकर्मीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उनीहरूको उपचारलाई प्रभावकारी बनाउन सम्बन्धित निकायसँग अपेक्षा राखेका छन्। नेपालको विविधताबीचको एकता, सहिष्णुता, भाइचारा र सामाजिक सद्भाव नै राष्ट्रको साझा सम्पत्ति भएको उल्लेख गर्दै उनले कुनै पनि प्रकारको आवेग, हिंसा वा मुठभेडबाट टाढा रहन र संयमित भई जिम्मेवार व्यवहार प्रदर्शन गर्न नागरिकहरूलाई आग्रह गरेका छन्।

सबै प्रकारका समस्याको समाधान शान्तिपूर्ण संवादबाटै सम्भव हुने भन्दै उनले आफ्ना माग तथा असन्तुष्टिहरूलाई संयमित ढङ्गले प्रस्तुत गर्न अनुरोध गरेका छन्। साथै, स्थानीय प्रशासन, धार्मिक अगुवा तथा नागरिक समाजलाई आपसमा समन्वय गरी विश्वासको वातावरण बनाउन पनि उनले जोड दिएका छन्। उत्पन्न विषम परिस्थितिको दिगो, प्रभावकारी र शान्तिपूर्ण समाधानका लागि सरकार, राजनीतिक दल, नागरिक समाज र सम्पूर्ण नेपाली जनतालाई एकजुट भएर अघि बढ्न उपराष्ट्रपति यादवले आह्वान गरेका छन्।






