रौतहट,१३ साउन । सुनसरीको देवानगन्जमा हालै घटेको दुःखद घटनाको विरोधमा रौतहटको सदरमुकाम गौरमा शान्तिपूर्ण प्रदर्शन सम्पन्न भएको छ। हिन्दु सम्राट सेना गौर नगर समितिको आयोजनामा भएको उक्त विरोध कार्यक्रममा सर्वसाधारण, सामाजिक अभियन्ता तथा विभिन्न धार्मिक समूहका प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको थियो।

समितिका नगर अध्यक्ष मनोज यादवको नेतृत्वमा गौरस्थित ऐतिहासिक घण्टाघर चोकबाट सुरु भएको जुलुसले नगरका मुख्य-मुख्य भागको परिक्रमा गरेको थियो। प्रदर्शनका क्रममा सहभागीहरूले देवानगन्ज घटनाका दोषीमाथि कडा कारबाही, हिन्दु अधिकारको संरक्षण र क्षेत्रमा सामाजिक-धार्मिक सद्भाव कायम राख्नुपर्ने माग राखेका थिए। त्यसैगरी केही प्रदर्शनकारीहरूले क्षेत्रमा भइरहेको अवैध बसोबासको मुद्दा उठाउँदै सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराएका छन्।

केही दिनअघि सुनसरीको देवानगन्ज गाउँपालिका-३ कप्तानगन्जमा दुई समूहबीच उत्पन्न विवादले उग्र रूप लिँदा स्थिति तनावग्रस्त बनेको थियो। झडपलाई नियन्त्रणमा लिने क्रममा सुरक्षाकर्मीले चलाएको गोली लागेर एक जनाको मृत्यु हुनुका साथै दर्जनौँ सर्वसाधारण र सुरक्षाकर्मी घाइते भएका थिए। सोही घटनालाई लिएर देशका विभिन्न भागमा आक्रोश र चिन्ता व्यक्त भइरहेका बेला गौरमा पनि निष्पक्ष छानबिन र दीर्घकालीन सुरक्षाको माग गर्दै ऐक्यबद्धता जनाइएको हो।

प्रदर्शनलाई संयमित र शान्तिपूर्ण राख्न स्थानीय प्रशासनले गौर क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाएको थियो। प्रहरी नायब उपरीक्षक बसन्त गौतमको नेतृत्वमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको बाक्लो टोली परिचालन गरिएको थियो। प्रशासनका अनुसार प्रदर्शन पूर्ण रूपमा अनुशासित र मर्यादित रूपमा सम्पन्न भएको छ भने कार्यक्रमपश्चात् गौरको जनजीवन पूर्ण रूपमा सामान्य अवस्थामा फर्किएको छ।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर