एसपी यादव/सर्लाही, साउन १३ गते। सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्जमा साउन १० गते आइतबार राति भएको हिंसात्मक घटनाको विरोधमा हिन्दु सम्राट नेपालले सर्लाही जिल्लामा बुधबार बन्दको घोषणा गरेको छ ।

हिन्दु सम्राट नेपालले बुधबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार, कप्तानगञ्जमा एक समूहमाथि भएको अन्धाधुन्ध गोली प्रहार, दमन, अन्याय तथा निर्मम घटनाप्रति गम्भीर आपत्ति जनाउँदै दोषीमाथि कडा कानुनी कारबाही, घटनाको निष्पक्ष छानबिन तथा पीडित परिवारलाई न्याय दिलाउन दबाबस्वरूप सर्लाही सदरमुकाम मलंगवासहित जिल्लाभर बन्द आह्वान गरिएको जनाएको छ ।

आइतबार राति सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्जमा दुई समूहबीच भएको झडप हिंसात्मक बनेपछि एक जनाको मृत्यु भएको थियो भने सुरक्षाकर्मीसहित २४ जना घाइते भएका थिए । घाइतेमध्ये ९ जना सर्वसाधारण, १० जना नेपाल प्रहरी र ५ जना सशस्त्र प्रहरी रहेको जनाइएको छ ।

बन्दका कारण अत्यावश्यक सेवाबाहेक यातायात, बजार तथा शैक्षिक गतिविधिमा प्रभाव पर्न सक्ने अनुमान गरिएको छ । स्थानीय प्रशासनले शान्ति-सुरक्षा कायम राख्न आवश्यक सुरक्षा व्यवस्था मिलाइएको सर्लाही प्रहरीका प्रवक्ता एवं डीएसपी वेदप्रसाद गौतमले जनाएको छ ।

यसैबीच, घटनाको सत्यतथ्य छानबिन गर्न गृह मन्त्रालयका सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ । समितिलाई एक साताभित्र प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको छ । साथै विभिन्न पक्षले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनबमोजिम कारबाही गर्न तथा सामाजिक सद्भाव कायम राख्न अपिलसमेत गरेका छन् ।

एसपी यादव

लेखकको बारेमा

एसपी यादव

लेखकबाट थप

पत्रकार यादव राजनीतिक, खोज अनुसन्धान र समसामयिक लगायत विषयमा रिपोर्टिङ गर्छन् ।


प्रतिक्रिया!!

सम्बन्धित खबर