एसपी यादव/सर्लाही, साउन १३ गते । सर्लाही प्रहरीले जिल्लाभर बढ्दो लागुऔषध दुर्व्यसन नियन्त्रणका लागि विशेष अभियान सञ्चालन गर्दै एकै दिन १६ जना लागुऔषध दुर्व्यसनीलाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै लागुऔषध प्रयोगकर्ता तथा दुर्व्यसनीको पहिचान, खोजी र नियन्त्रण अभियानलाई थप प्रभावकारी बनाइएको जनाएको हो ।
सर्लाही प्रहरीका प्रवक्ता एवं डीएसपी वेदप्रसाद गौतमका अनुसार, साउन १० गते प्रहरी चौकी गोरखकालीबाट ११ जना तथा प्रहरी चौकी त्रिभुवननगरबाट ५ जना गरी जम्मा १६ जना लागुऔषध दुर्व्यसनीलाई नियन्त्रणमा लिई थप अनुसन्धान प्रक्रिया अघि बढाइएको छ ।

डिएसपी गौतमद्वारा जारी विज्ञप्तिमा लागुऔषध दुर्व्यसन नियन्त्रणलाई प्राथमिकतामा राख्दै जिल्लाका विभिन्न स्थानमा पहिचान तथा खोजी अभियान निरन्तर सञ्चालन भइरहेको उल्लेख गरिएको छ ।
प्रहरीले लागुऔषध प्रयोग तथा दुर्व्यसनविरुद्धको अभियान आगामी दिनमा अझ सशक्त बनाइने जनाएको छ । साथै लागुऔषध दुर्व्यसन नियन्त्रणमा समुदाय, अभिभावक तथा सरोकारवाला निकायको सक्रिय सहयोग आवश्यक रहेको भन्दै शंकास्पद गतिविधिबारे नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन समेत सर्वसाधारणलाई आग्रह गरेको छ ।






