एसपी यादव/सर्लाही, साउन १२ गते । जिल्लाको गोडैता नगरपालिका-११ सिसौटियामा खेतमा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर एक किसानको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीय ४५ वर्षीय सञ्जय कुमार यादव रहेका छन् ।
सर्लाही प्रहरीका प्रवक्ता एवं डीएसपी वेदप्रसाद गौतमका अनुसार, साउन ११ गते राति करिब १०:४५ बजे सञ्जय आफ्नै खेतमा विद्युतीय मोटर जडान गरी सिँचाइ गरिरहेका बेला मोटरको तार मिलाउने क्रममा अचानक करेन्ट लागेर गम्भीर घाइते भएका थिए । उनलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको थियो । उपचारकै क्रममा राति ११:२६ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

घटनाको सूचना प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा पुगेको थियो । घटनाबारे थप अनुसन्धानका लागि मंगलबार बिहान जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट फरेन्सिक टोली समेत परिचालन गरिएको थियो । भने घटनाबारे थप अनुसन्धान जारी रहेको डीएसपी गौतमले जानकारी दिएका छन् ।






