काठमाडौ १२ साउन । सत्ता घटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सुनसरीमा घटेको घटना लगायतका समसामयिक विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गरेका छन् ।
रास्वपा महामन्त्री विपिन कुमार आचार्यका अनुसार उक्त बैठक भोलि बिहान ८:०० बजे सिंहदरबारस्थित संसद्को सार्वजनिक लेखा समितिको बैठक कक्षमा बस्नेछ । बैठकमा संसद्मा प्रतिनिधित्व गर्ने सम्पूर्ण राजनीतिक दलहरूका साथै उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल, महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी र सीके राउत नेतृत्वको जनमत पार्टीलाई पनि विशेष रूपमा आमन्त्रण गरिएको छ।

“सबै दललाई औपचारिक पत्राचार गरिएको छ भने सभापतिज्यूले स्वयम् नेताहरूलाई फोन गरेर पनि बैठकमा उपस्थितिका लागि आमन्त्रण गर्नुभएको छ,” लामिछानेको सचिवालयले जानकारी दिएको छ।
हालै सुनसरीमा भएको अत्यन्त संवेदनशील र दुःखद घटना तथा त्यसले सिर्जना गरेको असहज परिस्थितिका सन्दर्भमा राजनीतिक दलहरूबीच साझा धारणा बनाउन बैठक डाकिएको हो। समाजमा फैिन सक्ने द्वेष तथा तनाव न्यूनीकरण गरी आपसी सद्भाव र शान्ति सुरक्षा कायम राख्न प्रशासनिक प्रयासहरूसँगै राजनीतिक तहबाट पनि सामूहिक सन्देश र अपिलको आवश्यकता महसुस गरेर यो छलफल आयोजना गरिएको महामन्त्री आचार्यले स्पष्ट पारेका छन्।






