सत्य प्रकाश यादव/सर्लाही, साउन ११ गते । मधेस प्रदेश सशस्त्र प्रहरी बल, नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय, महोत्तरीका बाहिनिपति सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआईजी) विष्णु प्रसाद भट्टले नेपाल-भारत सीमाक्षेत्रमा हुने चोरी-तस्करी, लागूऔषध कारोबार तथा अन्य अवाञ्छित गतिविधिविरुद्ध सशस्त्र प्रहरीले शून्य सहनशीलताको नीति अवलम्बन गर्दै थप कडाइ गर्ने बताएका छन् । उनले सोमबार सर्लाहीका विभिन्न सीमावर्ती नाकाको नियमित अनुगमनका क्रममा यस्तो बताएका हुन् ।
डिआईजी भट्टले, सीमामा कानुन कार्यान्वयनमा कुनै सम्झौता नहुने बताएका छन् । उनले मधेस प्रदेशको जिम्मेवारी सम्हालेयता यो आफ्नो छैटौँ पटकको सर्लाही सीमा अनुगमन भएको उल्लेख गर्दै पहिलाको तुलनामा सीमाको सुरक्षा अवस्था सुधारउन्मुख रहेको र त्यसलाई अझ प्रभावकारी बनाउँदै लैजान आफू प्रतिबद्ध रहेको बताए । चोरी-तस्करी कानुनविपरीत र समाजका लागि गलत गतिविधि भएकाले त्यसलाई कुनै पनि हालतमा सहन नसकिने बताए । “सिमानामा कडाइ गर्ने नै हो । यदि हाम्रो कुनै कर्मचारीको समेत संलग्नता रहेको सूचना प्राप्त भयो भने तत्काल आवश्यक कारबाही हुन्छ,” उनले भने ।

खुला नेपाल-भारत सीमाका कारण सुरक्षा चुनौती थप जटिल रहेको उल्लेख गर्दै उनले त्यसको प्रभावकारी व्यवस्थापनका लागि सशस्त्र प्रहरीले नियमित निगरानी, गस्ती तथा सूचना संकलनलाई तीव्र बनाएको बताए । सीमाक्षेत्रमा हुने लागूऔषध कारोबारका कारण विशेषगरी युवा पुस्ता कुलतमा फस्ने क्रम बढेकाले त्यसविरुद्ध विशेष अभियान सञ्चालन गरिएको छ । चोरी-तस्करी, लागूऔषध ओसारपसार तथा अन्य अवाञ्छित गतिविधि नियन्त्रणका लागि नियमित अनुगमन गरिएको डिआईजी भट्टको भनाइ छ ।
सीमाक्षेत्रलाई सुरक्षित बनाउन सशस्त्र प्रहरीको प्रयास मात्र पर्याप्त नहुने उल्लेख गर्दै उनले स्थानीय समुदाय, जनप्रतिनिधि तथा सरोकारवालाको साथ र सहयोग आवश्यक रहेको समेत बताए ।
डिआईजी भट्टले मधेस प्रदेश सशस्त्र प्रहरी बल, नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीका बाहिनिपतिको जिम्मेवारी सम्हालेको दुई महिना पनि पूरा भएको छैन । छोटो अवधिमै उनले सीमाक्षेत्रको निरन्तर स्थलगत अनुगमनलाई प्राथमिकतामा राख्दै तस्करी नियन्त्रण, लागूऔषध नियन्त्रण तथा सीमा सुरक्षालाई थप प्रभावकारी बनाउने अभियानलाई तीव्रता दिएका छन् ।
सशस्त्र प्रहरी बल, नेपालको संगठनभित्र स्वच्छ छवि र व्यावसायिक अधिकृतका रूपमा परिचित डिआईजी भट्ट यसअघि सशस्त्र प्रहरी बलका प्रवक्ताको जिम्मेवारीसमेत सफलतापूर्वक सम्हालिसकेका छन् ।
सर्लाही जिल्लामा सशस्त्र प्रहरीको एउटा गणअन्तर्गत २ वटा सीमा सुरक्षा गुल्म, ९ वटा बोर्डर आउट पोस्ट (बिओपी) र ७ वटा सुरक्षा बेस गरी १९ वटा सुरक्षा युनिट परिचालनमा रहेका छन् । जिल्लाको नेपाल-भारत खुला सीमा पूर्वमा संग्रामपुरदेखि पश्चिममा छतौनासम्म करिब ५१ किलोमिटर फैलिएको छ ।






