काठमाडौँ— पर्साको नारायणी अस्पतालमा भएको आक्रमणमा गम्भीर घाइते भएका मेडिकल अफिसर डा. प्रमोद रामलाई थप उपचारका लागि काठमाडौँस्थित राष्ट्रिय ट्रमा सेन्टर ल्याइएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले ट्रमा सेन्टर पुगेर घाइते चिकित्सकको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै उपचारमा कुनै कसर बाँकी नराख्न अस्पताल प्रशासन र चिकित्सकहरूलाई निर्देशन दिएकी छन्।
स्वास्थ्य मन्त्रालयले डा. रामलाई विशेषज्ञ सेवा उपलब्ध गराउन आवश्यक सम्पूर्ण प्रबन्ध मिलाइसकेको जनाएको छ। अस्पतालमा तोडफोड तथा चिकित्सक एवं स्वास्थ्यकर्मीमाथि भएको सांघातिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै मन्त्रालयले उपचारका क्रममा हुने कुनै पनि घटनाको छानबिनका लागि कानुनी बाटो खुला रहेकाले कानुन हातमा लिएर हिंसात्मक गतिविधिमा उत्रनु अस्वीकार्य हुने चेतावनी दिएको छ।

मन्त्री मेहताले स्वास्थ्यकर्मीमाथिको हिंसात्मक आक्रमण सभ्य समाजका लागि अक्षम्य अपराध भएको बताइन्। उनले स्वास्थ्य संस्थाहरूमा सुरक्षित कार्य वातावरण निर्माण गर्नु सरकारको प्रमुख दायित्व भएको उल्लेख गर्दै यस्ता घटना दोहोरिन नदिन कानुनी र प्रशासनिक कदम कठोरताका साथ चालिने स्पष्ट पारिन्।
मन्त्रालयले घटनामा संलग्न दोषीहरूलाई तत्काल पहिचान गरी कडा कारबाही अघि बढाउन स्थानीय प्रशासनलाई निर्देशन दिएको छ। साथै, अस्पतालहरूमा सुरक्षित र निर्भय वातावरण सुनिश्चित गर्ने प्रतिबद्धता जनाउँदै मन्त्रालयले स्वास्थ्यकर्मीहरूलाई आफ्नो सेवा सुचारु राख्न अपिल समेत गरेको छ।






