काठमाडौँ । जनमत पार्टीका राष्ट्रिय सचिव भोविन्द्रप्रसाद यादवले आफ्नो पदबाट राजीनामा दिएका छन्। रुपन्देही, भैरहवा निवासी यादवले सोमबार पार्टी अध्यक्ष डा. सीके राउतलाई सम्बोधन गर्दै राजीनामा पत्र बुझाएका हुन्।
पार्टीभित्र पछिल्लो समय सिर्जित राजनीतिक, सङ्गठनात्मक तथा कार्यशैलीसम्बन्धी असहज परिस्थितिका कारण जिम्मेवारीपूर्वक कार्यसम्पादन गर्न कठिनाइ भएकाले पद त्याग गरेको यादवले राजीनामा पत्रमा उल्लेख गरेका छन्। पार्टीको नीति र सिद्धान्त अनुसार काम गर्दै आए पनि आन्तरिक लोकतन्त्र, पारदर्शिता, समान व्यवहार र सङ्गठनात्मक मर्यादाका विषयमा गम्भीर प्रश्न उठेको उनको भनाइ छ।

आफ्नो आत्मसम्मान, राजनीतिक मूल्य-मान्यता र व्यक्तिगत विवेकलाई मध्यनजर गर्दै आजकै मितिदेखि लागू हुने गरी स्वैच्छिक राजीनामा दिएको यादवले स्पष्ट पारेका छन्। पदमा रहँदा भएका कमी-कमजोरीलाई सङ्गठनात्मक यात्राको स्वाभाविक पक्षका रूपमा लिन आग्रह गर्दै उनले आगामी दिनमा पनि लोकतन्त्र, सुशासन, जनअधिकार र सामाजिक न्यायको पक्षमा आफ्नो राजनीतिक-सामाजिक भूमिका निरन्तर रहने प्रतिबद्धता व्यक्त गरेका छन्।
आफ्नो निर्णयबारे पार्टी सचिवालय र अध्यक्षलाई जानकारी गराइसकेको र राजीनामा स्वीकृतिको प्रक्रिया अघि बढाउन अनुरोध गरिएको यादवले बताए। जनमत पार्टीको स्थापनाकालदेखि नै सक्रिय रहँदै आएका यादवले यसअघि रुपन्देही क्षेत्र नम्बर ४ बाट दुई पटक प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका थिए।






