काठमाडौँ— सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सञ्चालनमा ल्याएको अनलाइन कर्मचारी सरुवा व्यवस्थापन प्रणालीमार्फत हालसम्म १,८६० वटा निवेदन दर्ता भएका छन्। प्रविधिमैत्री बनाइएको उक्त नयाँ प्रणालीमार्फत परेका आवेदनमध्ये हालसम्म १७३ जना कर्मचारीको सरुवा भइसकेको छ भने मापदण्ड र प्रक्रिया नपुगेका २८ वटा निवेदन फिर्ता पठाइएको छ।
असार १६ गतेदेखि कार्यान्वयनमा आएको यस डिजिटल प्रणालीले सरुवाका लागि मन्त्रालयका धाउनुपर्ने बाध्यताको अन्त्य गरेको छ। भूमी व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलका अनुसार निजामती कर्मचारीले आफ्नै घर वा कार्यालयबाट कर्मचारी सङ्केत नम्बर (सङ्केत नम्बर) प्रयोग गरी आवेदन दिन र त्यसको प्रगति विवरण अनलाइनमै हेर्न सक्ने व्यवस्था मिलाइएको छ। यसले सरुवा प्रक्रियालाई पारदर्शी, सुरक्षित र व्यवस्थित बनाउन मद्दत पुर्याएको छ।

मन्त्रालयका कर्मचारी प्रशासन महाशाखा प्रमुख एवं सहसचिव धोलकराज ढकालका अनुसार हाल रिक्त पदहरूमा विशेष आवश्यकताका आधारमा मात्र सरुवा भइरहेको छ। भदौ १ देखि ३० गतेसम्म नियमित सरुवाको अवधि रहेकाले तोकिएको समयसीमा पुगेका कर्मचारीहरूको व्यवस्थापन सोही अवधिमा गरिनेछ। स्थानीय तहमा १ वर्ष र अन्य निकायमा २ वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीहरूको विवरण रुजु गरेर मात्र सरुवा अघि बढाइने र योग्यता नपुगेका निवेदन तत्कालै अनलाइनबाटै फिर्ता हुने व्यवस्था गरिएको छ।
अब अफलाइन वा हातले लेखिएका निवेदन दर्ता नहुने स्पष्ट पार्दै सहसचिव ढकालले यो प्रणाली राष्ट्रिय किताबखानासँग प्रत्यक्ष जोडिएकाले सरुवा स्वीकृत हुनासाथ कर्मचारीको विवरण स्वतः अद्यावधिक हुने जानकारी दिए। विगतमा कागजी प्रक्रियाका कारण अद्यावधिकमा हुने ढिलाइ, पहुँचका आधारमा हुने भनसुन र अनियमितालाई यो प्रणालीले पूर्ण रूपमा रोक्ने विश्वास लिइएको छ।






