काठमाडौँ— नवगठित विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको सङ्गठन संरचना तथा दरबन्दी तेरिज स्वीकृत भएको छ। महावीर पुन मन्त्री रहेको यस मन्त्रालय आफ्नो सङ्गठन संरचना र दरबन्दी स्वीकृत गर्ने दोस्रो मन्त्रालय बनेको हो।

मन्त्रालयले साउन ११ गते स्वीकृत गरेको नयाँ सङ्गठन संरचना औपचारिक दर्ताका लागि राष्ट्रिय किताबखाना (निजामती) मा पठाइसकिएको छ। स्वीकृत नयाँ दरबन्दी अनुसार मन्त्रालयमा कुल ९० जनाको जनशक्ति कायम गरिएको छ।

जसमा प्रशासनिक नेतृत्वका लागि विशिष्ट श्रेणीको १ जना सचिव, इन्जिनियरिङ सेवाका २ जना र प्रशासन सेवाका १ जना गरी कुल ३ जना सहसचिवको दरबन्दी रहनेछ। राष्ट्रिय किताबखानाका महानिर्देशक श्रवणकुमार पोखरेलका अनुसार मन्त्रालयबाट प्राप्त दरबन्दी तेरिजलाई ‘फास्ट ट्रयाक’ बाट दर्ता प्रक्रिया पूरा गरिसकिएको छ।

नयाँ स्थापना भएका मन्त्रालयहरूको सङ्गठन संरचना छिटो-छरितो ढङ्गले दर्ता गर्नका लागि राष्ट्रिय किताबखानाले तालिमप्राप्त जनशक्ति सम्मिलित ‘विशेष कार्य टोली’ बनाएर काम गरिरहेको छ। वैज्ञानिक अनुसन्धान र आविष्कारलाई प्राथमिकता दिने उद्देश्यले गठित यस मन्त्रालयको सङ्गठन संरचना टुङ्गो लागेसँगै अब कर्मचारी व्यवस्थापन र कार्यसम्पादनको प्रक्रियाले थप गति लिने अपेक्षा गरिएको छ।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर