मकवानपुर — सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा रहँदा कारागारबाट फरार भएका कान्तिपुर सेभिङ एन्ड क्रेडिट कोअपरेटिभका पूर्वअध्यक्ष चन्द्रबहादुर (सीबी) लामा पक्राउ परेका छन्।
मकवानपुर प्रहरीले उनलाई जिल्लाको एक क्षेत्रबाट नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक (डिएसपी) माधव काफ्लेले लामाको पक्राउको पुष्टि गरेका छन्। गत वर्ष भदौ महिनामा भएको जेनजी आन्दोलनका क्रममा डिल्लीबजार कारागारबाट उनी फरार भएका थिए।

कान्तिपुर सहकारीमा भएको बचत अपचलन प्रकरणमा मुख्य अभियुक्तका रूपमा अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो। प्रहरीले पक्राउ परेका लामालाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी पुनः कारागार चलान गरिने जनाएको छ।






