एसपी यादव/सर्लाही, साउन ३ गते । सर्लाहीको सदरमुकाम मलंगवास्थित नेपाल टेलिकमको ८० मिटर अग्लो टावरमा चढेर प्रेमिकालाई बोलाइदिन माग गरेका एक युवकलाई करिब सवा तीन घण्टाको अथक प्रयासपछि सकुशल उद्धार गरिएको छ ।

गोडैता नगरपालिका-९ बकैनिया निवासी अन्दाजी २४ वर्षीय अफसर आलम हुसेन आइतबार बिहान नेपाल टेलिकम कार्यालय परिसरभित्र रहेको ८० मिटर अग्लो टावरमा चढेका थिए । उनले टावरमा चढेपछि आफ्ना साथीमार्फत आफू माथि रहेको जानकारी गराएका थिए, त्यसपछि प्रहरीलाई खबर गरिएको थियो ।

सर्लाही प्रहरी प्रमुख एसपी रविन्द्रनाथ पौडेलका अनुसार, बिहान ५ः३० बजे घटनाबारे प्रहरीलाई जानकारी प्राप्त भएको थियो । त्यसलगत्तै प्रहरी घटनास्थलमा परिचालन भई उद्धार अभियान सुरु गरेको थियो । मानसिक तनावमा रहेका हुसेनलाई परिवारका सदस्य तथा सुरक्षाकर्मीले निरन्तर सम्झाइ-बुझाइ गरेपछि उनी बिहान करिब ८ः५० बजे सकुशल टावरबाट तल झरेका हुन् । उद्धारपछि हुसेनलाई आवश्यक मनोचिकित्सकीय उपचारका लागि स्वास्थ्य संस्थातर्फ पठाइएको एसपी पौडेलले जनाएको छ ।
यस घटनाका कारण केही समय नेपाल टेलिकम कार्यालय परिसरमा स्थानीयवासीको भीड लागेको थियो । सुरक्षाकर्मीको संयमता, परिवारको सहयोग र निरन्तरको प्रयासपछि कुनै अप्रिय घटना हुन नदिई युवकको सकुशल उद्धार गरिएको हो ।






