एसपी यादव/सर्लाही, साउन २ गते । सर्लाही प्रहरीले लागूऔषध नियन्त्रण अभियानअन्तर्गत ठूलो सफलता हासिल गर्दै ४१९ दशमलव ९३ किलोग्राम गाँजा बरामद गरेको छ । विशेष सूचनाका आधारमा गरिएको कारबाहीमा दुई जनालाई पक्राउ गरिएको छ भने घटनालाई संगठित लागूऔषध कारोबार सञ्जालमाथिको ठूलो कारबाहीका रूपमा हेरिएको छ ।

सर्लाहीका प्रहरी प्रवक्ता एवं डीएसपी वेदप्रसाद गौतमका अनुसार, शनिबार कौडेना गाउँपालिका-१, सुखचैनास्थित लागूऔषधको बिक्री-वितरण तथा भण्डारण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा उनकै कमाण्डमा १२५ सदस्यीय प्रहरी टोली परिचालन गरिएको थियो । प्रहरी टोलीले विभिन्न घर तथा स्थानमा खानतलासी गर्दा घर र बारीमा लुकाइछिपाइ राखिएको २१ वटा बोराभित्र ४१९.९३ किलोग्राम गाँजा फेला पारी बरामद गरेको हो । घटनास्थलबाट गाँजा तौल गर्न प्रयोग हुने डिजिटल नापतौल मेसिन ४ थान र सानो तराजु १ थानसमेत बरामद गरिएको डीएसपी गौतमले जानकारी दिए ।

कारबाहीका क्रममा कोडेना गाउँपालिका-१, सुखचैनाका २५ वर्षीय राहुल राउत र ४६ वर्षीय महादेव राउतलाई पक्राउ गरिएको छ । उनीहरूमाथि थप अनुसन्धान भइरहेको डीएसपी गौतमले बताए ।

कारबाहीको क्रममा सर्लाही प्रहरी प्रमुख एसपी रविन्द्रनाथ पौडेलले घटनास्थलमा पुगेर अनुगमन गरेका थिए ।

डीएसपी गौतमका अनुसार बरामद भएको गाँजाको परिमाण, भण्डारणको शैली तथा बरामद भएका सामग्रीका आधारमा यस घटनामा संगठित लागूऔषध कारोबार सञ्जालको संलग्नता हुन सक्ने आशंका गरिएको छ । त्यसैले यस कारोबारमा संलग्न अन्य व्यक्ति तथा सम्भावित सञ्जालको खोजी तीव्र पारिएको उनले बताए ।

सर्लाही प्रहरीले पछिल्लो समय लागूऔषध ओसारपसार, भण्डारण तथा अवैध कारोबारविरुद्ध निगरानी र कारबाहीलाई थप प्रभावकारी बनाउँदै आएको छ । साथै लागूऔषध नियन्त्रण अभियानलाई सफल बनाउन शंकास्पद गतिविधिबारे समयमै प्रहरीलाई सूचना उपलब्ध गराउन आम नागरिकसँग अनुरोध गरेको छ ।

एसपी यादव

लेखकको बारेमा

एसपी यादव

लेखकबाट थप

पत्रकार यादव राजनीतिक, खोज अनुसन्धान र समसामयिक लगायत विषयमा रिपोर्टिङ गर्छन् ।


प्रतिक्रिया!!

सम्बन्धित खबर