राजविराज,३१ असार । सडक डिभिजन कार्यालय लहानको मातहतमा राजविराजको हनुमान मन्दिरदेखि नेता चोकसम्म भइरहेको सडक विस्तार, फुटपाथ र नाला (ड्रेन) निर्माण कार्यमा गम्भीर लापरबाही देखिएको छ। ठेकेदार कम्पनी अरमान कन्स्ट्रक्सनले वर्षाको पानी जमेको नालामा नै ढलान गरिरहेको पाइएको हो।

मंगलबार राजविराजको मिनि मार्केट क्षेत्रमा ठेकेदार कम्पनीले गुणस्तरहीन काम गरिरहँदा स्थानीयले आक्रोश व्यक्त गरेका छन्। सडकको मापदण्ड र गुणस्तरलाई पूर्णतः बेवास्ता गर्दै पानी जमेको खाल्डोमै सिमेन्ट र गिट्टीको मिश्रण (ढलान) हालिरहेको दृश्यले निर्माण कार्यमा ठूलो बेइमानी भएको स्पष्ट पारेको छ।

निर्माण कार्यको प्रत्यक्षदर्शी स्थानीय बासिन्दाहरूले पानीमै ढलान गरिरहेको भिडियो र फोटो प्रमाणका रूपमा कैद गरेका छन्। “यस्तो लापरबाहीले केही दिनमै नाला भत्किन्छ र राज्यको ढुकुटीको दुरुपयोग हुन्छ,” एक स्थानीयले गुनासो गरे।

यस विषयमा जिज्ञासा राख्दा सडक डिभिजन कार्यालय लहानका प्रमुख (सि.डि.ई) ध्रुव कुमार झाले ठेकेदारको काम प्राविधिक रूपमा गलत भएको स्वीकार गरेका छन्। उनले पानीमा ढलान गर्ने कार्य मापदण्ड विपरीत रहेको बताउँदै तत्काल काम रोक्न निर्देशन दिएको जानकारी दिए।

“पानी जमेको ठाउँमा ढलान गर्नु प्राविधिक रूपमा गलत हो, यो स्वीकार्य छैन। मैले काम तत्काल बन्द गर्न लगाउँछु,” प्रमुख झाले भने, “यसअघि पानीमै निर्माण गरिएका भागहरू पनि गुणस्तरहीन देखिएका छन्, ती सबै भत्काउन लगाउँछौं। मापदण्ड विपरीत काम गर्नेलाई कारबाहीको प्रक्रिया अघि बढाउनेछौं।”

राजविराजको मुख्य बजार क्षेत्रमा भइरहेको यो निर्माण कार्यमा देखिएको लापरबाहीले निर्माण गुणस्तरमाथि नै प्रश्नचिह्न खडा गरेको छ। डिभिजन कार्यालयले अनुगमनमा बेवास्ता गर्दा ठेकेदारले मनोमानी गर्दै आएको स्थानीयको आरोप छ।

यस विषयमा सप्तरीका प्रमुख जिल्ला अधिकारी श्याम कृष्ण थापाले निर्माण कार्यमा लापरबाही गर्ने ठेकेदार कम्पनीलाई कारबाही गरिने बताएका छन्। सार्वजनिक पूर्वाधार निर्माणमा खेलबाड गर्ने जोकोहीलाई पनि कानुन बमोजिम कारबाहीको दायरामा ल्याउने उनले दृढता व्यक्त गरे।


कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर