एसपी यादव/सर्लाही, असार ३० गते । सर्लाही प्रहरीले मलंगवा नगरपालिका-८ स्थित एक सैलुनबाट कटुवा पेस्तोल र गोली बरामद गर्दै भारतीय नागरिकसहित दुई जनालाई पक्राउ गरेको छ ।

सर्लाहीका प्रहरी प्रवक्ता एवं डीएसपी वेदप्रसाद गौतमका अनुसार, विशेष सूचनाका आधारमा असार २८ गते दिउँसो करिब २:४० बजे मलंगवा नगरपालिका-८ स्थित प्रादेशिक अस्पताल रोडमा सञ्चालन हुँदै आएको एक सैलुनमा प्रहरी टोलीले छापा मारेको थियो । भारतको बिहार राज्यको सितामढी जिल्ला, बाजपट्टी-१२ स्थायी घर भएका ३८ वर्षीय राजेश कुमारले सञ्चालन गर्दै आएको उक्त सैलुनमा खानतलासी गर्दा कुर्सीमाथि रहेको कालो प्लास्टिकको झोलाभित्र लुकाइराखिएको एक थान कटुवा पेस्तोल र दुई राउण्ड गोली बरामद गरिएको थियो ।

घटनामा संलग्न रहेको आरोपमा असार २९ गते ब्रह्मपुरी गाउँपालिका-४ बाट भारतको बिहार राज्यको सितामढी जिल्ला, सोनवर्षा-१४ स्थायी घर भएका २३ वर्षीय डब्लु कुमारलाई पक्राउ गरिएको छ । उनी नै उक्त हतियार सैलुनभित्रको कुर्सीमा राख्ने व्यक्ति रहेको प्रहरीको दाबी छ । साथै घटनामा सहयोग गरेको आरोपमा लालबन्दी नगरपालिका-१ निवासी ३६ वर्षीय महमद अबुलैसलाई पनि पक्राउ गरिएको डीएसपी गौतमले जानकारी दिए ।

पक्राउ परेका दुवै जनाविरुद्ध हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा मंगलबार सर्लाही जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको र घटनालाई गम्भीर सुरक्षा चुनौतीका रूपमा लिँदै बरामद हतियारको स्रोत, यसको प्रयोगको उद्देश्य तथा यससँग जोडिएको सम्भावित अन्तरदेशीय आपराधिक सञ्जालबारे विस्तृत अनुसन्धान भइरहेको डीएसपी गौतमले बताएका छन् ।

एसपी यादव

लेखकको बारेमा

एसपी यादव

लेखकबाट थप

पत्रकार यादव राजनीतिक, खोज अनुसन्धान र समसामयिक लगायत विषयमा रिपोर्टिङ गर्छन् ।


प्रतिक्रिया!!

सम्बन्धित खबर